काठमाडौँ । दाङको तुलसीपुरमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन्। रास्वपाका सभापति रवि लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रममा सहभागी केही कार्यकर्ताले एमालेको झण्डा जलाएको भिडियोमा देखिन्छ।
झण्डा जलाउने क्रममा एमाले नेतृत्वविरुद्ध नाराबाजीसमेत गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
स्थानीय स्रोतका अनुसार लामिछाने दाङका विभिन्न कार्यक्रममा सहभागी हुन आएका थिए। सोही क्रममा तुलसीपुरमा गरिएको स्वागत कार्यक्रममा उत्साहित कार्यकर्ताबीच उक्त घटना भएको बताइएको छ।
घटनाप्रति एमालेका स्थानीय नेताहरूले आपत्ति जनाएका छन्। उनीहरूले यसलाई राजनीतिक असहिष्णुताको उदाहरण भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध लक्षित नाराबाजी गरिएको विषयलाई पनि एमालेले गम्भीर रूपमा लिएको जनाएको छ।
उता रास्वपाको तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको छैन। यद्यपि पार्टीका केही स्थानीय कार्यकर्ताले सामाजिक सञ्जालमार्फत उक्त कार्य व्यक्तिगत आवेगमा भएको प्रतिक्रिया दिएका छन्।
लोकतान्त्रिक व्यवस्थामा असहमति अभिव्यक्त गर्ने अधिकार भए पनि प्रतिपक्षी दलका झण्डा जलाउने कार्यले राजनीतिक संस्कारमाथि प्रश्न उठाउने विश्लेषण गरिएको छ।