काठमाडौँ । आसन्न निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका नेता-कार्यकर्ताहरू आ-आफ्ना उम्मेदवारको पक्षमा मत माग्दै घरदैलो अभियानमा व्यस्त छन्।
यसै क्रममा रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका बिश्वदिप पाण्डे पनि घरदैलो अभियानमा सक्रिय देखिएका छन्।
तर, चुनावी अभियानमा बिश्वदिप एक्लै छैनन् । नेकपाका जिल्ला स्तरीय नेता, कार्यकर्तासंगै उनका ९२ वर्षीय हजुरबुवा प्रजाप्रति प्रसाद पाण्डेको पनि चुनावी अभियानका साथ घरदैलोमा सकृय बनेका छन् । प्रजापति आफ्ना नातीका लागि मत माग्दै हरेक मतदाताको घर–घर पुगिरहेका छन्।
त्यसो त, प्रजापति आफ्नो गृह जिल्ला अर्घाखाँचीमा बस्दै आएका छन् । चुनाब नजिकिए पछि उनी केही दिनअघि मात्र अर्घाखाँचीबाट बुटवल आएका हुन्। उनले नातीको सफलताको कामना गरिरहेका छन् ।
उनका छोरा तथा बिश्वदिपका बुवा भक्ति प्रसाद पाण्डे पुराना प्रभावशाली माओवादी नेता थिए। छोराले अंगालेको कम्युनिष्ट विचारधारा र परिवर्तन प्राप्तीको संघर्षमा प्रजाप्रतिले सधैं साथ दिँदै आएका थिए।
केही वर्षअघि भक्तिको निधन भएपछि त्यस क्षेत्रमा उनको अभाव खड्किएको थियो। छोराको असामयिक निधनपछि उनले परिवर्तनप्रतिको आफ्नो चाहना नातीमा देखेका थिए। नेकपाले रुपन्देही-२ बाट बिश्वदिपलाई उम्मेदवार बनाएपछि छोराको अधुरो सपना नातीले पूरा गर्नेमा उनी विश्वस्त छन्।
उनले बुढ्यौलीले गलेको शरीरमा उर्जा र उत्साह भर्दै घरदैलो गरिरहेका छन् । उनको जोश युवाभन्दा कम छैन। घरदैलो अभियानका क्रममा उनले मतदातासँग आग्रह गर्दै भने, ‘मेरो केही चाहना छैन, मेरो नातीले संसद् बनेर देशको सेवा गरेको हेर्न पाए अरु केही चाहिँदैन,’ उनले थपे, ‘उसले जित्यो भने परिवर्तन र विकासको सपना पुरा गर्छ ।’
९२ वर्षको उमेरमा पनि राजनीतिक सक्रियता देखाउँदै नातीका पक्षमा मत माग्न घरदैलोमा जुटेका प्रजाप्रतिको यो अभियानले रुपन्देही-२ को चुनावी माहोललाई अझ रोचक बनाएको छ।
