रौतहटको सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच झडप, सेना सहित सुरक्षाकर्मी परिचालन

दियोपोस्ट संवाददाता  

रौतहट । गौर नगरपालिका–६ स्थित सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि नेपाली सेना सहित सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। विवाह कार्यक्रममा बाजा बजाएको विषयलाई लिएर दुई समुहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहिबार राति एक हिन्दू समुदायको घरमा विवाह कार्यक्रममा बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो।

सबगढवा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समयमा नमाज पढिँदै गर्दा बाजा बजाइएको भन्दै दुवै पक्षबीच भनाभन भएको स्थानीय स्रोतले जनाएको छ।

भनाभनपछि मुस्लिम समुदायका केही व्यक्तिले बाजा बजाउने डिजे समूहका सदस्यहरूमाथि कुटपिट गरेको आरोप छ। सोही घटनालाई लिएर शुक्रबार बिहान देखि पुनः दुई समुदायबीच झडप सुरु भएको हो।

बिहानैदेखि दुवै पक्षबाट ढुंगामुढा हानाहान भएको बताइएको छ। घटनापछि क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अवस्था नियन्त्रणका लागि नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी सहितको टोली घटनास्थलमा पुगेको जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। हाल विवाद साम्य पार्ने प्रयास जारी रहेको प्रशासनले जनाएको छ।

 

सिफारिस