काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बढ्दो वैदेशिक रोजगारी निर्भरता घटाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा सहकारितामा आधारित उत्पादन प्रणालीको विकास र विस्तारमार्फत आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने नीति अघि सारिएको छ ।
पार्टीले स्रोत-साधनको दक्ष परिचालन, खर्च क्षमतामा वृद्धि, उत्पादन तथा रोजगारी विस्तार, समावेशी विकास र वैकल्पिक वित्त परिचालनमार्फत उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रभावकारी स्रोत व्यवस्थापनद्वारा आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै पाँच वर्षभित्र बहुआयामिक गरिबी दर हालको २०।१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने उद्देश्य पनि उल्लेख गरिएको छ ।
यस महत्वाकांक्षी लक्ष्य पूरा गर्न दिगो र तीव्र नीतिगत प्रयास आवश्यक पर्ने औंल्याइएको छ । पछिल्ला वर्षहरूमा गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति भए पनि ५ प्रतिशतमा झार्न संरचनात्मक सुधार अपरिहार्य हुने पार्टीको ठहर छ । सोहीअनुसार तीव्र आर्थिक वृद्धिका आधारहरू पहिचान गरिएको जनाइएको छ ।
कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासमार्फत उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अख्तियार गरिएको नेताहरूले बताएका छन् ।
नुवाकोट क्षेत्र नं १ का उम्मेदवार हितबहादुर तामाङले वैदेशिक रोजगारीमा निर्भरता घटाई स्वदेशमै अवसर विस्तार गर्न पार्टी प्रतिबद्ध रहेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएर जनताको मौलिक हक सुनिश्चित गर्ने पनि उनको भनाइ छ । दुर्गम क्षेत्रमा विद्यालय र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विशेष अभियान सञ्चालन गर्ने योजना पार्टीले अघि सारेको छ ।
त्यसैगरी बालपोषण र मातृस्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दा गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । सडक, विद्युत्, खानेपानी तथा इन्टरनेट सेवा विस्तार गरी ग्रामीण-शहरी अन्तर घटाउने लक्ष्य पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ ।
ललितपुर क्षेत्र नं ३ का उम्मेदवार राजकाजी महर्जनका अनुसार अति गरिब परिवारलाई नगद सहायता, वृद्धभत्ता र अपाङ्गता भत्ताको प्रभावकारी कार्यान्वयनमार्फत सामाजिक सुरक्षा सुदृढ गरिनेछ ।
स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गर्ने लक्ष्यसहित पार्टी निर्वाचनमा होमिएको उनले बताए ।
उनले आर्थिक वृद्धिमात्र पर्याप्त नहुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र जीवनस्तरमा सन्तुलित सुधार आवश्यक रहेको बताए । बहुआयामिक गरिबी आयमा मात्र सीमित नभई जीवनस्तरका विभिन्न सूचकसँग सम्बन्धित हुने भएकाले समग्र सुधार अनिवार्य हुने उनको भनाइ छ ।