काठमाडौं । दाङको तुलसीपुरमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा (एमाले)को ‘सूर्य’अंकित चुनाव चिन्ह झण्डा जलाएको भन्दै बिरोध गरिएको छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज काठमाडौंमा मसाल जुलुस निकाल्दै बिरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले दाङमा भएको घटनाको बिरोध गर्दै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला दहन गरेका छन् ।
अनेरास्ववियुले झण्डा जलाउने कार्यलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमाथि सीधै आक्रमण भएको भन्दै कडा आपत्ति जनाएको छ। त्यसैगरी संगठनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
बिहीबार राति दाङको तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्र चोकमा भएको झण्डा जलाउने निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन, अराजकता र लोकतन्त्र विरोधी कार्य भएको भन्दै तत्काल कानुनी कारबाही र दोषीलाई कठघरामा उभ्याउन माग गरिएको छ ।
रास्वपा नेता तथा जिल्ला अध्यक्षले पार्टिका सदस्यहरू होइनन्, केही घुसपैठी तत्वहरूले झण्डा जलाएको दाबी गर्दै तत्काल निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गरिने बताउउँदै आएका छन् ।
सो घटनामा प्रहरीले बुद्धी बहादुर बस्नेतलाई पक्राउ गरेको भने अन्य संलग्नको खोजी कार्य जारी रहेको बताइएको छ।