काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव उग्र साम्प्रदायिक दंगामा परिणत भई अवस्था नियन्त्रण बाहिर गएको भन्दै कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी विज्ञप्तिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा कम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकिएको हो ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी रहने जनाएको छ।
जारी आदेशअनुसार तोकिएको अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, आवतजावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
प्रशासनका अनुसार पहिलो चरणमा तोकिएको समयदेखि लागू गरिएको कर्फ्यू अर्को दिन बिहान ६ः३० बजेसम्म निरन्तर रहनेछ। बिहान ६ः३० देखि ८:३० बजेसम्म अत्यावश्यक कार्यका लागि कर्फ्यू आंशिक रूपमा खुला गरिने र त्यस अवधिमा समेत कुनै भेला, जुलुस वा प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ। त्यसपछि पुनः अर्को आदेश नभएसम्मका लागि कर्फ्यू निरन्तर लागू गरिने जनाइएको छ।
गौरमा सामान्य भनाभनबाट सुरु भएको विवाद तीन दिनमै उग्र साम्प्रदायिक झडपमा परिणत भएपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय लिएको हो। जिल्लामा थप सुरक्षा सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।
