चुनावको मुखमा अर्घाखाँचीको रानीचौरमा पानीको हाहाकार, ५ सय भन्दा बढी घरधुरी प्रभावित

दियोपोस्ट संवाददाता  

अर्घाखाँची । मालारानी गाउँपालिका-१ स्थित रानीचौरलगायतका करिब ५सय घरधुरी एक महिनादेखि खानेपानी अभावमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। मरेङ बेहोरेखोला लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत वितरण हुँदै आएको पानी लिफ्टिङ मोटर बिग्रिएर बन्द हुँदा स्थानीयवासीको दैनिकी प्रभावित बनेको हो।

धारामा पानी आउन छाडेपछि तल्लो रानीचौर, उपल्लो रानीचौर, गैराटोल, जोर्ती पोखरी, सान्दे लगायतका बासिन्दा रातभर पालो कुर्दै पधेँरो धाउन बाध्य छन्। रानीचौर चिदियारकी रचना नेपालीका अनुसार एक महिनादेखि धारामा पानी नआउँदा जनजीवन कष्टकर बनेको छ। ‘घर नजिकै पधेँरो छैन। आधा घण्टा जंगलको बाटो हिँडेर काठेरुखको पधेँरो पुग्नुपर्छ। जंगली जनावरको जोखिम उत्तिकै छ,’ उनले भनिन्।

पालो कुरेर पानी भर्नु पर्दा आधा रात हुने उनले बताइन् । ‘रातको खाना खाएर अरु बिस्तरामा जान्छन् । हामी भने गाग्रो डोकोमा राखेर पानी लिन पधेरोँ कुद्नु पर्छ । पधेँरो जाँदा पानी रित्तिसकेको हुन्छ । थोपा थोपा संलागेर गाग्रो भरेर घर फर्किँदा आधा रात भइसकेको हुन्छ ।’

गाउँमा रहेका दुई पधेँरामध्ये एउटामा पानी सुकिसकेको छ भने अर्कोमा पानी अत्यन्त कम छ। रातभर लाइन लागेर थोपा-थोपा संकलन गरेर गाग्रो भर्दा आधा रात बित्ने गरेको उनी बताउँछिन् ।

रचना भन्छिन्,- कपडा धुन, गाइ भैँसीलाई खुवाउन, तरकारी पखाल्न र सरसफाइको काम गर्न पानी अभाव भएको छ । पानी बिना दैनिकी निकै कठिन हुने रहेछ ।’

स्थानीय सुमित्रा नेपाली पानीको अभावमा एक महिनायता समस्या भोग्नु परेको बताउँछिन् । भन्छिन्, ‘०६१ सालमा बिहे गरेर यस गाउँमा आएदेखि यस्तो समस्या कहिल्यै भोगेकी थिइनँ। तीन साना बच्चालाई घरमा छोडेर रातभर पानी खोज्न जानुपर्छ। माघको जाडोमा न्यानोमा बस्नु छैन । पानीको दुखले रातभर सुत्नु छैन । टर्च बालेर पानी ओसार्दा निकै कष्ट हुन्छ।’

उनका अनुसार लुगा धुनका लागि एक घण्टा हिँडेर मरेङ खोलासम्म पुग्नुपर्छ। फर्किँदा उकालो बाटो झन् कठिन हुने गरेको छ।

स्थानीयले मोटर बिग्रेका कारण पानी नआएको सुने पनि मर्मतका लागि प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। ‘भोट माग्ने बेला धेरै प्रतिबद्धता आउँछन्, तर एक महिनादेखि पानीको अभाव हुँदा समेत समस्या बुझ्ने कोही छैन,’ उनीहरूले भने।

उपल्लो रानीचौरका श्याम विश्वकर्माका अनुसार लिफ्टिङको मोटर बिग्रिएर पानी धारामा पानी नआएपछि निकै समस्या झेल्नु पर्यो । ‘आजदेखि अलिअलि पानी आएको छ, तर एक घण्टा पनि राम्रोसँग आएन । सबैलाई पर्याप्त पुगेको छैन,’ उनले बताए।

यस विषयमा मालारानी गाउँपलिका वडा नम्बर १ का अध्यक्ष दधिराम आचार्यले लिफ्टिङ मोटरमा समस्या आएपछि सान्दे, रानीचौर, देउराली, भगवती, फाप्रे लगायत क्षेत्रका ५ सयभन्दा बढी घरधुरी प्रभावित भएको बताए।

‘हामीले समयमै मर्मतका लागि पहल गरेका थियौँ। तर काठमाडौँबाट मोटरको सामान ढिलो आइपुगेकाले समस्या लम्बिएको हो। आजदेखि पानी आएको भन्ने जानकारी पाएको छु,’ उनले भने।

अध्यक्ष आचार्यका अनुसार दीर्घकालीन समाधानका लागि गोलाय पोखरी खानेपानी योजना सुरु गरिएको छ। कुल ४ करोड ९६ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनाअन्तर्गत हालसम्म ८० लाख बराबरको काम सम्पन्न भइसकेको छ। दुई वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

यता, स्थानीयवासी भने चुनावी चहलपहलबीच आफूहरू पानीको आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरिरहेका छन्।

स्थानीयले पानी बोक्दै गरेको भिडियो :