आफ्नै नगरपालिकामा भोट माग्दै मेयर ढुङ्गानाले गरे निर्वाचन आचारसंहिता उल्लंघन

दियोपोस्ट संवाददाता  

 काठमाडौँ । धादिङस्थित निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगनाले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको पाइएको छ । मेयर ढुङ्गनाले आफू बहाल रहकै स्थानीय तहमा, नेपाली कांग्रेसको पक्षमा भोट मागेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका हुन् ।

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ३ अन्तर्गत दफा (५) मा जनप्रतिनिधि वा अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद र प्रभाव प्रयोग गरेर कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा भोट माग्न नपाउने स्पष्ट प्रावधान समावेश गरिएको छ।

तर, मेयर ढुङगनाले ‘नेपाली कांग्रेस- जिन्दावाद’ भन्दै नारा लगाएको भिडियो समेत सार्वजनिक भएको छ।  उक्त भिडियोमा उनले ‘भोट के मा ? रुखमा’ भन्दै नेपाली कांग्रेसको पक्षमा मत मागिरहेको देखिन्छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि धादिङ क्षेत्र न. २, मा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले नीलकण्ठ -६ भोर्लेमा मतदाता भेटघाट गर्ने क्रममा, ढुंगानाले सो कुरा बोलेका हुन्।

निर्वाचहान आचारसंहिता २०८२ ले  स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका काममा संलग्न हुन सक्ने छुट दिए पनि यसैलाई दुरुपयोग गर्दै  ढुंगानाले आफू बहाल रहकै स्थानीय तहमा चुनावी प्रचारमा व्यस्त रहेको भेटिएको हो।

सार्वजनिक भएको भिडियो नीलकण्ठ -६ भोर्लेको रहेको दियोपोष्टले पुष्टि गरेको छ।

सार्वजनिक पदमा रहेका जनप्रतिनिधिले आफ्नो पद, प्रभाव वा सरकारी स्रोत प्रयोग गरी कुनै दल वा उम्मेदवारको पक्षमा भोट माग्नु निर्वाचन आचारसंहिताविपरीत हुने व्यवस्था छ। त्यसैगरी, “निर्वाचनमा संलग्न कुनै व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विरोधमा प्रचारप्रसार तथा प्रभावकारी गतिविधि गर्न नपाउने” व्यवस्था गरिएको छ। यसअन्तर्गत राज्यको स्रोत, पद, प्रभाव वा सरकारी साधन प्रयोग गरी चुनावी गतिविधि गर्न प्रतिबन्ध गरिएको छ।

उनी नेपालका २९३ वटै नगरपालिकाहरूको छाता संगठन ‘नेपाल नगरपालिका संघ’का केन्द्रीय अध्यक्ष पनि हुन्। देशभरका स्थानीय सरकारहरूलाई नीति, नियम र सुशासनको पाठ सिकाउने संस्थाको नेतृत्व  सम्हालेका ढुंगाना अहिले ‘निर्वाचन आचारसंहिता २०८२’ को उल्लङ्घन गर्दै सडकमा ओर्लिएका भेटिएका हुन्।

भिडियो पनि हेर्नुहोस् :

सिफारिस