
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका गुल्मी क्षेत्र नं. १ का उम्मेदवार सुदर्शन बराल यतिबेला चुनावी घरदैलो अभियानमा सक्रिय छन्। लामो राजनीतिक अनुभव र स्वच्छ छविको परिचय बनाएका बरालको उम्मेदवारीसँगै उक्त क्षेत्रमा नेकपा र चुनाव चिन्ह ‘तारा’ प्रति जनसमर्थन बढ्दो देखिएको छ।
उनले भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाहरू मतदातामाझ प्रस्तुत गरिरहेका छन्।
बरालले कालिगण्डकी करिडोरअन्तर्गत रिडि-रुद्रवेणी-पुर्तिघाट-परल्वा खण्ड तथा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी-खज्र्याङ्ग-वल्कोट र रुद्रवेणी-वामीटक्सार सडक खण्डमा निर्माणाधीन पुल तथा सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै, चोरकाटे र शान्तिपुरलगायतका सडक आयोजनाको दिगो मर्मतसम्भारका लागि ठोस योजना ल्याउने बताएका छन्।
खज्र्याङ्ग-चारपाला-गौडाकोट-मजुवा-शान्तिपुर-रोटेखोला-बरेङ्ग सडकलाई मापदण्डअनुसार स्तरवृद्धि गर्ने, गेखुङ्ग हुग्दीखोलामा पुल निर्माण गरी नियमित यातायात सञ्चालन गर्ने योजना अघि सारिएको छ।
कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटबाट ग्वाघा-शान्तिपुर-इन्द्रेगौडा सडकलाई पुर्कोट-प्युठान-भालुवाङ्ग जोड्ने राष्ट्रिय राजमार्गका रूपमा विकास गर्ने लक्ष्यसमेत उनले व्यक्त गरेका छन्।
इन्द्रेगौडा-शान्तिपुर कालोपत्रे तथा बाँकी पुर्तिघाट-ग्वाघा-शान्तिपुर खण्ड कालोपत्रेका लागि पहल गरिने उल्लेख छ। सबै वडासम्म पुग्ने पहुँचमार्ग स्तरोन्नति गर्ने योजना पनि अघि सारिएको छ।
कृषि क्षेत्रमा हानिकारक वन्यजन्तु बाँदर, दुम्सी र बँदेल नियन्त्रणका लागि नीति निर्माण गर्ने, रैथाने बाली संरक्षण र व्यावसायिक विस्तार गर्ने तथा औषधीय प्रयोगका लागि भाँगो खेतीलाई वैधानिकता दिने पहल गरिने उनले बताएका छन्।
थोर्गा रुरुक्षेत्र उखुजन्य उद्योग, रुरुक्षेत्रमा स्थापित कृषि प्रशोधन उद्योग, रेसुंगा जल उद्योग तथा स्थानीय स्लेट ढुंगा उद्योगलाई टेवा पुग्ने नीति ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, कृषि बीमा, किसान पेन्सन व्यवस्था, कृषि तथा लघु उद्यमका लागि परियोजना बैंक स्थापना गरी सहुलियत कर्जा उपलब्ध गराउने नीति निर्माणमा जोड दिइने उनले बताएका छन्।
खज्र्याङखोला, रिडीखोला, कालीगण्डकी किनार, हुग्दी खोला, भुग्दी खोला, भार्से खोला, गिदीखोला, खैरनी खोला, त्रिवेणी खोला, लुङखोला र तालखोला लगायत जलाधार क्षेत्रको संरक्षण, तटबन्ध निर्माण र सिँचाइ विस्तार गर्ने योजना पनि अघि सारिएको छ।
पर्यटन प्रवर्द्धनतर्फ गुल्मी चारपाला दरबार, चन्द्रकोट, छत्रकोट, बम्घाकोट, खङ्गकोट, भार्सेकोट, ठुलोलुम्पेकको हचिङ्गकोट, फोक्सिङ्गकोट, कौडे दरबारलगायत ऐतिहासिक क्षेत्रको थप अनुसन्धान गरी पर्यटकीय सर्किट विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
साथै रेसुङ्गा क्षेत्र, छत्रकोट देवालय, ऐतिहासिक रुरुक्षेत्रधाम, दिब्रुङ्ग शिवालय, भगवती मन्दिर, रुद्रवेणी राम मन्दिर, जयखानी कनौटा, सिद्धबाबा धाम रुपाकोट, गोबन्दी सिद्धबाबा र सत्यवती क्षेत्रलाई धार्मिक-सांस्कृतिक सर्किटका रूपमा विकास गरिने उल्लेख गरिएको छ।
प्रभावशाली नेता बराल २०६४ सालको संविधानसभा निर्वाचनमा गुल्मी-१ बाट निर्वाचित भई संविधानसभा सदस्य बनेका थिए। उनी लुम्बिनी प्रदेशमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष भइसकेका छन् भने लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन्।
