धादिङमा बस दुर्घटना : १८ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आइतबार राति करिब १ः३० बजे पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैंसिगौंडा क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको माछापुछ्रे टुर एण्ड ट्राभल्सको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा १५ जना, प्रतिनिधिसभा निर्वाचन सुरक्षा ड्युटीमा खटिएको मोबाइल टोली नं. १ बेनीघाटबाट सशस्त्र प्रहरी निरीक्षक सुमन कुँवरको कमाण्डमा ६ जना तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी हवल्दार डिल्ली भट्टराईको कमाण्डमा ७ जना गरी २८ जनाको टोली घटनास्थल पुगेको थियो।

उक्त टोलीले २६ जना घाइतेको उद्धार गरी मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल र टिचिङ अस्पतालमा पुर्‍याएको थियो। तीमध्ये २५ जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर तथा अन्य अस्पतालमा रिफर गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटनामा ६ महिला र १२ पुरुष गरी १८ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना विदेशी नागरिक (एक पुरुष र एक महिला) रहेको प्रारम्भिक जानकारी छ। नौ जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र अन्य नौ जनाको शव जिल्ला अस्पताल धादिङमा राखिएको छ। अधिकांश मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित सुरक्षा निकायका प्रमुखहरू पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी उपरीक्षक सुमित खड्काको कमाण्डमा ६० जना र नेपाली सेनाको जम्दारको कमाण्डमा २१ जनाको टोली परिचालन गरिएको थियो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ

सिफारिस