काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्। सोमबार बिहान सर्लाहीमा आयोजित एक कार्यक्रममा पराजुलीलाई कांग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका हुन्।
पराजुलीसहित रास्वपा मकवानपुरका केही नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए। कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा त्यागेको घोषणा गरेका थिए।
उनले पार्टीभित्र देखिएका प्रवृत्तिहरूले आफूलाई गम्भीर सोचमा पुर्याएको उल्लेख गरेका छन्। ‘हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ उनले लेखेका छन्।
सीमित व्यक्तिहरूको प्रभाव, चाकरी प्रवृत्ति, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा कमजोर बन्दै गएको आन्तरिक लोकतन्त्रले आफू निराश बनेको उनको भनाइ छ।
मनहरी गाउँपालिकाका स्थायी बासिन्दा पराजुली ६ मंसिर २०८१ मा सम्पन्न रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए। पुरानो दल कांग्रेस छोडेर रास्वपामा सक्रिय भएका उनी प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नपाएपछि असन्तुष्ट बनेका थिए।
तीन दशक लामो राजनीतिक अनुभव भएका पराजुली अब पुनः आफ्नै पुरानो राजनीतिक घर नेपाली कांग्रेसमा फर्किएका छन्। शालीन र भद्र स्वभावका नेताका रूपमा चिनिने उनले मकवानपुरको पश्चिमी क्षेत्रमा राम्रो राजनीतिक छवि बनाएका छन्।