वीरगंजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालद्वारा जारी विज्ञप्तीअनुसार आज बिहान ४ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका क्षेत्रभित्रका तोकिएका चार किल्ला भित्र आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ।

साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने प्रशासनले जनाएको छ।  पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु जारी गरिएको छ ।

प्रशासनले अत्यावश्यक सेवा अन्तर्गतका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा दिन जाने परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटका आधारमा यात्रा गर्ने यात्रुहरू लाई भने सुरक्षा निकायको समन्वयमा आवतजावतमा सहजीकरण गरिने जनाएको छ।

प्रशासनले सबै सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

सिफारिस