झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका शाहले संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता र परिणाममुखी विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रगत योजनाहरू अघि सारेका छन्।
संघीय सांसदको हैसियतमा उनले भ्रष्टाचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने, संघ-प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्ने तथा झापा–५ का विकास एजेन्डालाई राष्ट्रिय नीति तथा बजेटमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नागरिकमैत्री कानुन निर्माण, संशोधन र परिमार्जनमा सक्रिय भूमिका खेल्ने उल्लेख गरेका छन्।
शिक्षा क्षेत्रमा विशेष जोड
शिक्षा क्षेत्रतर्फ गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने, सामुदायिक विद्यालय सुदृढीकरण, डिजिटल पुस्तकालय र प्रयोगशाला विस्तार, ‘स्कूल रिटेन्सन कार्यक्रम’ सञ्चालन जस्ता कार्यक्रम अघि सारिएका छन्। साथै, प्राविधिक शिक्षाको विस्तार र स्थानीय भाषा तथा सिपमूलक शिक्षा प्रवर्द्धनमा जोड दिइएको छ।
स्वास्थ्य सेवामा सुधार
स्वास्थ्यतर्फ विपन्न नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्ने, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, विशेषज्ञ सेवासहितको स्वास्थ्य केन्द्र सुदृढ गर्ने तथा दीर्घरोगी र असहाय नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ। आपतकालीन सेवा सुदृढीकरण र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने पनि उनको प्रतिबद्धतामा उल्लेख छ।
पूर्वाधार र विकास
पूर्वाधार विकास अन्तर्गत सडक स्तरोन्नति, खानेपानी र सिँचाइ विस्तार, कृषि उत्पादनको बजारीकरण, ग्रामीण क्षेत्रमा इन्टरनेट तथा सञ्चार सेवा विस्तार, व्यवस्थित शहरीकरण र सुरक्षित बस्ती विकासका योजना अघि सारिएका छन्। झापा–५ लाई आर्थिक, शैक्षिक तथा स्वास्थ्य पूर्वाधारको दृष्टिले नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य उनले राखेका छन्।
कृषि, रोजगारी र उद्यम
कृषि क्षेत्रको आधुनिकीकरण, कोल्ड स्टोर तथा कृषि भण्डारण केन्द्र स्थापना, कृषिमा अनुदान र बीमा विस्तार, युवा लक्षित उद्यमशीलता कार्यक्रम तथा रोजगारी सिर्जना उनका प्राथमिक एजेन्डा हुन्। स्थानीय उत्पादनको ब्रान्डिङ र बजार सुनिश्चिततामा पनि उनले जोड दिएका छन्।
महिला, बालबालिका र सामाजिक समावेशीकरण
महिला सशक्तीकरण, बालअधिकार संरक्षण, लैंगिक हिंसाविरुद्ध कडा कदम, तथा एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने वाचा पत्रमा उल्लेख छ। सामाजिक सुरक्षा योजनालाई प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
सुशासन र पारदर्शिता
सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सरल बनाउने, भ्रष्टाचार नियन्त्रणका लागि कडा निगरानी प्रणाली लागू गर्ने र नागरिक सहभागिता बढाउने कार्यक्रम अघि सारिएको छ। उनले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन्।
शाहले पाँच वर्षभित्र उल्लेखित योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई साथ र समर्थनका लागि आह्वान गरेका छन्। उनका अनुसार झापा–५ लाई सुशासन, समृद्धि र विकासको नमुना निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ वाचा पत्र ल्याइएको हो।