काठमाडौं । पोखरामा पहिलो संयुक्त आउटलेटको उल्लेखनीय सफलतापछि ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ले काठमाडौंस्थित आफ्नो दोस्रो संयुक्त आउटलेटलाई नयाँ तथा परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्।
सन् २०२१ मा स्थापना भएको उक्त आउटलेटलाई हाल पूर्ण रूपमा पुनःडिजाइन गरी फराकिलो सिटिङ एरिया र आधुनिक सजावटसहित स्तरोन्नति गरिएको छ। बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि जोड्ने उद्देश्यसहित यस स्थानलाई थप आकर्षक बनाइएको जनाइएको छ।
काठमाडौंको यस आउटलेटले ग्राहकहरूलाई प्रिमियम कफीको स्वादसँगै भेटघाट, छलफल तथा मोटरसाइकल संस्कृतिको अनुभव लिन सक्ने विशेष वातावरण प्रदान गर्ने विश्वास लिइएको छ। यसलाई सामान्य क्याफेभन्दा फरक, उत्कृष्ट ‘लाइफस्टाइल डेस्टिनेसन’का रूपमा विकास गर्ने दुवै ब्रान्डको साझा लक्ष्य रहेको बताइएको छ। नयाँ स्वरूपमा ग्राहक सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।
यस अवसरमा एसजे मोटोका संस्थापक सौरभ ज्योतिले पोखरामा पहिलो संयुक्त आउटलेट सञ्चालन गरेदेखि नै बाइकर र कफी पारखीहरूको समुदाय निरन्तर विस्तार भइरहेको उल्लेख गरे। उनले यही उत्साह र लगावलाई अझ सशक्त बनाउन काठमाडौं आउटलेटलाई थप फराकिलो र आकर्षक बनाइएको बताए।
लामो राइडअघि विश्राम गर्न, साथीहरूसँग भेटघाट गर्न वा उत्कृष्ट कफीको आनन्द लिन चाहनेहरूका लागि नयाँ स्वरूपको यो संयुक्त आउटलेट उपयुक्त गन्तव्य बन्ने अपेक्षा गरिएको छ। उक्त आउटलेट सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।