चुनाव प्रचारमा बालबालिका प्रयोग गरे उम्मेदवारी रद्द गरिने आयोगको चेतावनी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि राजनीतिक दल र उम्मेदवारहरूले झण्डा तथा निर्वाचन चिह्न बोक्न लगाउने कार्यमा बालबालिकालाई संलग्न गराएको भन्दै निर्वाचन आयोग मा उजुरीहरू परिरहेका छन्।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सांस्कृतिक कार्यक्रम, र्‍याली, जुलुस तथा कुनै दल वा उम्मेदवारविरुद्धका गतिविधिमा समेत बालबालिकालाई सहभागी गराइएको गुनासो प्राप्त भएको छ। त्यस्तै, दल वा उम्मेदवारको झण्डा, चुनाव चिह्न अंकित भेस्ट, टिसर्ट तथा लोगो प्रदर्शन गराउने कार्यमा पनि बालबालिकाको प्रयोग भएको उजुरी आयोगमा दर्ता भएका छन्।

विद्यालय समयमै विद्यालय आसपास राजनीतिक कार्यक्रम आयोजना गरी पठनपाठनमा अवरोध पुर्‍याइएको विषयमा समेत आयोगको ध्यानाकर्षण भएको छ। यस्तो गतिविधिले शैक्षिक वातावरणमा प्रत्यक्ष असर परेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन्।

उजुरीहरू बढेपछि आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई सचेत गराएको छ।

नेपालको संविधान को धारा ३९ अनुसार प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण विकासको हक सुनिश्चित गरिएको छ। त्यस्तै, बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको बाँच्न पाउने अधिकार र विकासका लागि जोखिम न्यूनीकरण तथा सुरक्षात्मक उपाय अवलम्बन गर्न राज्यका सबै तहलाई बाध्य बनाएको छ।

यसैगरी, निर्वाचन आचारसंहिता २०८२ ले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। उक्त आचारसंहिता उल्लंघन भएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने प्रावधान रहेको छ।

आयोगले सबै पक्षलाई कानुनी व्यवस्था स्मरण गराउँदै कुनै पनि राजनीतिक गतिविधि तथा निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रयोग नगर्न तथा उनीहरूको अध्ययन–अध्यापनमा असर पर्ने कार्य नगर्न आग्रह गरेको छ।

सिफारिस