काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पार्टी स्थापनाकालदेखि सक्रिय रहेका नेताहरू क्रमशः बाहिरिन थालेपछि संगठनभित्रको असन्तुष्टि झन् चुलिएको देखिन्छ।
सुशासनको नारा अघि सार्दै उदाएको रास्वपाभित्र नै सुशासन कायम हुन नसकेको, टिकट वितरणमा आर्थिक चलखेल भएको तथा निर्णय प्रक्रिया व्यक्तिकेन्द्रित बनेको आरोप लगाउँदै स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता-कार्यकर्ता पार्टी त्याग्न थालेका हुन्।
पार्टी परित्याग गर्ने केही नेता अन्य दलमा प्रवेश गरेका छन् भने केही निष्क्रिय बनेका छन्। पार्टीले हालै सार्वजनिक गरेको बाचा पत्रलाई संस्थागत थिति बसाल्ने दस्तावेजका रूपमा प्रस्तुत गरे पनि व्यवहारमा पार्टी विधि र प्रणालीअनुसार नचलेको गुनासो बढ्दो छ।
आन्तरिक असन्तुष्टि र बढ्दो बहिर्गमनले चुनावी परिणाममै नकारात्मक असर पर्न सक्ने चिन्ता पार्टी पंक्तिमा देखिएको छ।
यसैबीच, देशव्यापी दौडाहामा रहेका वरिष्ठ नेता बालेन्द्र साहले प्रदेश, जिल्ला र स्थानीय समितिसँग पर्याप्त समन्वय नगरी व्यक्तिगत रूपमा कार्यक्रम सञ्चालन गरेको भन्दै केही नेताहरू आक्रोशित बनेका छन्।
साहले निकटका व्यक्तिहरूलाई प्राथमिकता दिने र संस्थापक नेताहरूलाई बेवास्ता गर्ने गरेको आरोपसमेत लगाइएको छ। यस विषयमा नेताहरूले सभापति रवि लामिछानेसँग असन्तुष्टि जनाइसकेको बताइन्छ। लामिछानेले भने चुनावसम्मका लागि परिस्थिति जटिल रहेको भन्दै कार्यकर्तालाई संयमता अपनाउन आग्रह गरेका छन्।
सोमबार मात्रै रास्वपा मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर-२ बाट रास्वपाका उम्मेदवार बनेका पराजुलीले यसपटक टिकट वितरणमा आर्थिक प्रभाव परेको आरोप लगाउँदै पार्टी छाडेको जनाएका छन्। उनले पार्टी पुँजीवादी सोचबाट प्रभावित भएको आरोपसमेत लगाएका छन्।
चुनावकै बीचमा रास्वपाबाट एनआरएए विभाग उपप्रमुख प्रणयशमसेर राणा, केन्द्रीय वित्त विभागका दिनेश आचार्य, बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँ, मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा, संस्थापक सदस्य उर्मिला भुर्तेल, नुवाकोट जिल्ला सदस्य अशोककुमार थापा तथा सदस्यद्वय पवन चौधरी र कमला रावल पाण्डे लगायतले पनि पार्टी परित्याग गरेका छन्।