रामेश्वर फुयालको चुनावी प्रचारका क्रममा एमाले कार्यकर्ताद्वारा गोकर्णेश्वरमा विद्यार्थीमाथि निर्घात कुटपिट

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-८ स्थित अत्तरखेलमा विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। गोकर्णेश्वरमा रहेको ‘क्याफे कर्नर एण्ड बेकरी’मा चिया खाइरहेका विद्यार्थीमाथि नेकपा (एमाले)का कार्यकर्ताले बेकरीभित्रै छिरेर कुटपीट गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं ३ का एमाले उम्मेदवार रामेश्वर फुयाँलको चुनावी प्रचार प्रसारमा गएका एमाले कार्यकर्ताले विद्यार्थीमाथि कुटपीट गरेको बताइएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एमालेको झण्डा बोकेका कार्यकर्ताहरू चिया पसलभित्रै प्रवेश गरी विद्यार्थीमाथि हातपात गरेको देखिन्छ। प्रत्यक्षदर्शी र स्थानीयका अनुसार विद्यालय पोसाकमा रहेका केही विद्यार्थी चिया पसलमा बसेर चिया खाइरहेका थिए। सोही समयमा बाटोमा एमालेको र्‍याली आइरहेको थियो।

स्थानीय स्रोतका अनुसार विद्यार्थीहरूले र्‍याली देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी को चुनाव चिन्हसमेत रहेको घण्टी बजाउँदै जिस्काएको आरोप छ। त्यसपछि र्‍यालीमा सहभागी केही एमाले कार्यकर्ता आक्रोशित बन्दै चिया पसलभित्र छिरेर विद्यार्थीमाथि कुटपिट गरेको बताइएको छ।

घटनापछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। विद्यार्थीमाथि कुटपिट गरिएको भन्दै व्यापक विरोध भइरहेको छ। स्थानीयले घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

भिडियो हेर्नुहोस्: 

सिफारिस