अमेरिकाको भर्जिनियामा एक नेपालीद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरी कारवाहीमा आक्रमणकारीको पनि मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभ अपार्टमेन्टमा एक नेपालीले आफ्नै श्रीमति र छोरीको हत्या गरेका छन् । ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रहार गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन्।

घटनाका क्रममा घरबाहिर गाडी सफा गरिरहेका ३५ वर्षीय ज्वाइँ सन्तोष बस्नेतले घरभित्रको अवस्था थाहा पाएपछि हस्तक्षेप गर्ने प्रयास गरेका थिए। ससुराबाट हतियार खोस्न खोज्दा उनीमाथि पनि आक्रमण भएको थियो। ससुराको आक्रमबाट गम्भीर घाइते भएका बस्नेतको हाल उपचार भइरहेको छ।

प्रहरी घटनास्थलमा पुगेर छत्रबहादुरलाई नियन्त्रणमा लिन खोज्दा उनले हतियार नफालेपछि गोली चलाइएको थियो। प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको जनाइएको छ। घटनाको समयमा परिवारका एक वर्षीय शिशु भने सकुशल रहेको बताइएको छ।

परिवारको पृष्ठभूमि आपराधिक नरहेको प्रारम्भिक जानकारी भए पनि घरभित्रै भएको यस्तो वीभत्स घटनाले प्रहरीसमेत स्तब्ध बनेको छ। घटनाबारे केभिन डेभिसले ‘कल्पनाबाहिरको भीषण दृश्य’ भन्दै टिप्पणी गरेका छन्।

प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे गहन अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

सिफारिस