दाङ-१: नेकपाका ४७ नेता-कार्यकर्ताद्वारा सामूहिक राजीनामा, कुलप्रसाद केसीलाई समर्थन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र भइरहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसहित ४७ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

सोमबार दाङको देउखुरीस्थित मौरीघाटमा आयोजित पत्रकार सम्मेलनमार्फत पूर्व माओवादी खेमाका नेता–कार्यकर्ताहरूले पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

पार्टी छाड्नेहरुमा पार्टी केन्द्रिय कमिटी सदस्य देखि वाइसिएल प्रदेश कमिटी सदस्यसमेत रहेका छन् । उनीहरुले स्वतन्त्र उम्मेदवार केसीलाई सहयोग गरेको भन्दै पार्टीले कारबाही प्रक्रिया अगाडि बढाएपछि आफूहरू सामूहिक रूपमा राजीनामा दिन बाध्य भएको बताएका छन् ।

राजीनामा दिएका नेता–कार्यकर्ताहरूले अब पूर्ण रूपमा स्वतन्त्र उम्मेदवार केसीको पक्षमा चुनावी प्रचार–प्रसारमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चुनावकै मुखमा ठूलो संख्यामा पूर्व माओवादी पृष्ठभूमिका नेताहरू बाहिरिनु पार्टीका आधिकारिक उम्मेदवार मेटमणि चौधरीका लागि ठूलो धक्का मानिएको छ।

पूर्व माओवादी समूहका नेताहरू स्वतन्त्र उम्मेदवार केसीको पक्षमा खुलेसँगै उनी दाङ क्षेत्र नं. १ मा बलियो प्रतिस्पर्धी उम्मेदवारका रूपमा उदाउँदै गएको राजनीतिक वृत्तमा चर्चा छ।

दाङ क्षेत्र नं.१ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ भने आगामी दिनमा यस घटनाले मत परिणाममा कस्तो प्रभाव पार्ने हो भन्ने चासो बढेको छ।

सिफारिस