काठमाडौँ । एमाले नेता महेश बस्नेतका प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा रहेका भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम प्रसाद सापकोटा (दीपशिखा) ले आफ्नो निर्वाचन अभियानमा सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र संवर्द्धनलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्।
उनले ऐतिहासिक तथा सांस्कृतिक विशेषताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई नीतिगत तथा व्यवहारिक दुवै माध्यमबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मूर्त तथा अमूर्त कला, संस्कृति र परम्परागत सम्पदाको संरक्षणका लागि स्पष्ट नीतिगत व्यवस्था गरी त्यसअनुसार बजेट सुनिश्चित गरिने उनको भनाइ छ।
गुठी संस्थानका अव्यावहारिक नियमका कारण जात्रा तथा पर्व सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सापकोटाले समयानुकूल कानुनी परिमार्जन गरी सम्पदामैत्री वातावरण बनाइने बताए। गुठीका जग्गासम्बन्धी नियम-कानुन संशोधन गरेर जात्रा, पर्व तथा सम्पदालाई किसानमैत्री बनाउने योजना पनि उनले सार्वजनिक गरेका छन्।
सम्पदाको रेखदेख, अभिलेखीकरण तथा नियमित सञ्चालन स्थानीय सरकार मातहत हुने व्यवस्था मिलाउन आवश्यक ऐन–कानुन निर्माण तथा संशोधन गरिने उनको प्रतिबद्धता छ। नेवाः, तामाङलगायत सबै समुदायका मूर्त–अमूर्त सम्पदाको पञ्जीकरण गरी संरक्षणका लागि नीतिगत व्यवस्थासहित अक्षय कोष स्थापना गरिने योजना पनि अघि सारिएको छ।
पर्यटकीय पूर्वाधार र सांस्कृतिक उद्योगग्राम
भक्तपुर जिल्लाअन्तर्गत सूर्यविनायकस्थित डोलेश्वर, सुवर्णेश्वर र रानीकोटलगायत पर्यटकीय गन्तव्यको विकासका लागि बजेट सुनिश्चित गरिने सापकोटाले बताएका छन्। ऐतिहासिक सहर थिमिलाई हस्तकला, माटोका भाँडा तथा सांस्कृतिक पेशा झल्काउने गरी पार्कसहितको सांस्कृतिक उद्योगग्रामका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी सूर्यविनायकमा प्राणी उद्यान निर्माण, मध्यपुर सांस्कृतिक ट्रेल तथा सूर्यविनायक पर्यापर्यटन र धार्मिक पर्यटन ट्रेल निर्माण गरिने उल्लेख गरिएको छ।
आईटी तथा डिजिटल उद्यम केन्द्रको योजना
सापकोटाले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी तथा डिजिटल उद्यमको केन्द्रका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरेका छन्। खाली रहेका सरकारी भवन तथा मर्ज भएका विद्यालय भवनलाई आईटी वर्कस्टेसन र स्टार्टअप केन्द्रका रूपमा प्रयोग गरिने उनले बताएका छन्।
पार्क तथा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने, प्रत्येक नगरमा आधुनिक प्रविधियुक्त अध्ययन केन्द्र तथा प्रयोगशाला सञ्चालन गरिने र युवालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाइने उनको भनाइ छ।
यसैगरी, निर्वाचन क्षेत्रमै रोजगारी, तालिम, सीप विकास र अवसरबारे जानकारी दिने ‘रोजगारी सूचना केन्द्र’ स्थापना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
उनका प्रमुख प्रतिस्पर्धीका रूपमानेभक्तपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
