नेपाली कांग्रेसद्वारा फुटबल खेलाडी ‘साम्बा’को उपचारका लागि ५ लाख आर्थिक सहयोग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

पार्टीका केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै उपचार सहयोगस्वरूप उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका हुन्। विज्ञप्तिअनुसार, खेलाडीको उपचारमा सहयोग पुर्‍याउनु सबैको दायित्व भएको उल्लेख गरिएको छ।

सोही सन्दर्भमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी उपचार कोषमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाइएको छ।

त्यस्तै, पार्टी सभापति गगन थापाले देशको प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएकी खेलाडी ‘साम्बा’प्रति उच्च सम्मान व्यक्त गर्दै यस्तो कठिन समयमा सबैले साथ दिनुपर्ने बताएका छन्।

साथै, नेपाली कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जनमा सीमित नराखी ‘राष्ट्रिय पहिचान’ तथा ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को महत्वपूर्ण आधारका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।