काठमाडौँ । भारतका विभिन्न राज्यमा समस्यामा परेका पाँच जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। उपलब्ध जानकारीअनुसार दिल्ली प्रहरी, नेपाली राजदुताबास, र कीन इन्डियाको समन्वयमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो।
उद्धार गरिएका नागरिकहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमार्फत परिवारको जिम्मा लगाइएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको जानकारी र सहकार्यमा भारतको दिल्लीस्थित महिपालपुर क्षेत्रको कैलाश होटलबाट उनीहरूलाई सकुशल उद्धार गरिएको थियो । उद्धारपछि उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उपस्थित गराई आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।
घटनामा संलग्न ठगी गर्ने व्यक्तिविरुद्ध जाहेरी दर्ता गरी कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित पीडितलाई सहयोग भइरहेको छ। यस कार्यमा कीन इन्डियाका ग्लोबल संयोजक इन्द्रराज भट्टराई नेतृत्वको टोलीले सहजीकरण गरिरहेको बताइएको छ।
बालविवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन पछिल्लो समय मानव बेचबिखनविरुद्धको सचेतना र उद्धार अभियानमा समेत सक्रिय बन्दै आएकी छन्।
उनले सगरमाथा को शिखरबाट बालविवाह विरुद्ध अभियानको उद्घोष गरेपछि अभियानलाई निरन्तरता दिँदै कीन इन्डियाकी ग्लोबल एम्बासडरको रूपमा मानव बेचबिखनविरुद्धको गतिविधिमा संलग्न हुन थालेकी हुन्।
उद्धार कार्यमा Shubh Awasar Gram Nepal तथा Shanti Shiksha Abhiyan Nepal ले समेत सहकार्य गरेको जनाइएको छ।
