काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ ले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना समर्थकप्रति आभार व्यक्त गर्दै चाँडै मैदानमा फर्कने बताएकी छन्। उपचारका लागि देश-विदेशबाट प्राप्त भएको आर्थिक सहयोग र मायाले आफू भावुक भएको उल्लेख गर्दै उनले ‘धन्यवाद’ शब्द निकै सानो लागेको बताएकी छन्।
पछिल्लो २४ घण्टामा आफ्नो उपचारका लागि अभूतपूर्व सहयोग जुटेको जनाउँदै भण्डारीले आर्थिक सहयोगसँगै प्राप्त साथ, विश्वास र हौसलाले आफूलाई अझ बलियो बनाएको उल्लेख गरेकी छन्। उनले यही ऊर्जाका साथ शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मिहिनेत गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ भने विदेशी प्लेटफर्ममार्फत ४५ लाख ९५ हजार २ सय ५२ न्युजिल्यान्ड डलर बराबर रकम जुटेको छ।
विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले नगद तथा अन्य सुविधासहित सहयोग गर्ने वाचा गरेका छन्। कतारमा उपचारका क्रममा बसोबास र यातायात व्यवस्थापनका लागि समेत सहयोग प्राप्त हुने देखिएको उनले बताएकी छन्।
यसैबीच उनले आवश्यकभन्दा बढी रकम संकलन भइसकेको उल्लेख गर्दै आजदेखि दुवै खातामा सहयोग रकम रोकिदिन समर्थकहरूलाई अनुरोध गरेकी छन्।
भण्डारी आवद्ध क्लब ध्भििष्लनतयल एजयभलष्ह ले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले जानकारी दिएकी छन्। चाँडै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
चोटका कारण शारीरिकसँगै मानसिक रूपमा समेत थकान महसुस गरेको उल्लेख गर्दै उनले समर्थकहरूको साथले फेरि उठ्ने साहस दिएको बताएकी छन्। ‘म एक्लो छैन भन्ने विश्वास दिलाउनुभएको छ,’ उनले लेखेकी छन्।
दृढ संकल्प व्यक्त गर्दै कप्तान भण्डारीले आफू अझ मजबुत भएर मैदानमा फर्कने उद्घोष गरेकी छन्। पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने र समर्थकहरूको विश्वासलाई जितमार्फत प्रत्युत्तर दिने उनको प्रतिबद्धता छ।
‘मेरो तर्फबाट ‘धन्यवाद’ मात्र पर्याप्त हुँदैन। तपाईंहरूको माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ,’ उनले उल्लेख गरेकी छन्।
उनले समर्थकहरूसँग चाँडै मैदानमा भेट हुने विश्वाससमेत व्यक्त गरेकी छन्।