विदेशी मुद्रासहित स्विडिस नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक स्विडिस नागरिक पक्राउ परेकी छन्। मंलबार बिहान करिब १०ः४५ बजे सिचुवान एयरलाइन्समार्फत चीनको टियानफु जान लागेकी ४९ वर्षीया स्विडिस नागरिक कुन्चोक खाण्ड्रोलाई अन्तर्राष्ट्रिय प्रस्थान कक्षबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेक अनुसार उनले खैरो रंगको साइड ब्यागभित्र लुकाईछिपाई विभिन्न विदेशी मुद्रा लैजान खोजिरहेको अवस्थामा विमानस्थल सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको थियो ।

खाण्ड्रोको साथबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन ७ हजार ४०० र स्विडिस क्रोनर ४३ हजार बरामद भएको छ।

घटनाबारे आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक ललितपुर पठाइएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।

सिफारिस