काठमाडौँ । गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनलाई लक्षित गर्दै निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार फागुन १६ गतेदेखि २१ गतेसम्म पाँच दिन मदिराको कारोबार र सार्वजनिक स्थानमा सेवन गर्न रोक लगाइने भएको हो ।
जिल्ला सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालयको सर्वदलीय बैठकको सहमतिपछि उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । जिल्ला प्रशासनका अनुसार निर्वाचनको समयमा शान्ति-सुरक्षा कायम राख्न तथा कुनै अप्रिय घटना हुन नदिन यो कदम चालिएको उनले बताए ।
अधिकारी गैह्रेका अनुसार निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिरा नियन्त्रणमा कडाइ गरिनेछ। निर्णयको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन, संयुक्त गस्ती तथा निगरानी बढाइने उनले जानकारी दिए।
प्रशासनले निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने उनले बताए । जिल्ला प्रहरी कार्यालयले पनि निर्वाचन अवधिभर सुरक्षा व्यवस्था थप सुदृढ बनाइने जनाएको छ।
सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि शान्तिपूर्ण र मर्यादित निर्वाचन सम्पन्न गर्न प्रशासनको निर्णयमा सहमति जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयले उद्योगी-व्यवसायी तथा सर्वसाधारण नागरिकलाई निर्णयको पालना गरी सहयोग गर्न अपिल गरेको छ।