काठमाडौँ । काठमाडौँ क्षेत्र नं.५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ। पौडेलले कल सेन्टर सञ्चालन गरी फोन तथा एसएमएसमार्फत भोट मागेर आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
पौडेलसँग सम्बन्धित सचिवालयले नेपाल टेलिकमका दुई वटा नम्बर प्रयोग गरि निरन्तर कल र एसएमएस गरि भोट मागेको पाइएको छ । भोट माग्नका लागि एसएमएसका लागि ९८४९११९२६१ र कलका लागि ९७४४५५९८८७ नम्बर प्रयोग गरिएको छ ।
तर, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ४ (त) अनुसार राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिले अनलाइन वेबपेज, टेलिभिजन स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक जस्ता माध्यमबाट प्रचारप्रसार गर्न नहुने उल्लेख छ।
स्रोतका अनुसार उम्मेदवार पौडेलले निर्वाचनका लागि छुट्टै सचिवालय स्थापना गरेका छन्। सो सचिवालयबाट काठमाडौँ बाहेक अन्य निर्वाचन क्षेत्रका मतदातालाई समेत फोन गरी मत मागिएको छ।
फोनमार्फत आफूलाई काठमाडौँ क्षेत्र-५ का नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेलको सचिवालयबाट बोलेको बताउँदै भोट मागिएको छ । ‘पहिले पनि हजुरहरुकै साथ सहयोगले गर्दा उहाँ विजयी हुनु भएको थियो, अहिले पनि रुख चिन्हमा भोट दिई उहाँलाई जिताउने हुनेछ भन्ने आशा गरेका छौँ,’ फोनमा भनिएको छ ।
फरक निर्वाचन क्षेत्रका मतदातालाई फोन गरि भोट माग्नुले उनले आफ्नै क्षेत्रका मतदाता समेत नचिनेको देखिन्छ । निर्वाचन अवधिमा उम्मेदवार तथा राजनीतिक दलहरूले मत माग्दा मतदाताको गोपनीयता सम्मान गर्नुपर्ने, अनावश्यक दबाब दिन नहुने तथा भ्रामक प्रचार गर्न नहुने व्यवस्था समेत आचारसंहितामा उल्लेख छ ।
यसअघि पनि सोही क्षेत्रबाट विजयी बनेका पौडेल केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीसमेत बनेका थिए।