काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बर्दिया क्षेत्र नम्बर २ का उम्मेदवार सुरेश पन्थमाथि आर्थिक शोषण तथा रकम फिर्ता नगरेको गम्भीर आरोप लागेको छ । बर्दियाकी जानकी पौडेलले पन्तबाट चार वर्षदेखि आर्थिक शोषणमा परेको आरोप लगाएकी हुन्।
पीडित पौडेलका अनुसार, २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पन्थ बर्दियाबाट चुनव लड्दा जानकीबाट पैसा लिएका थिए ।
एउटै पार्टीमा आबद्ध र चिनजानकै नेता भएकाले विश्वास गरेर जानकीले विभिन्न चरणमा साढे १३ लाख रुपैयाँ नगद उपलब्ध गराएको बताएकी छन्। उक्त रकम जुटाउन उनले साथीसँग सापटी लिएकी, वित्तीय संस्थाबाट ऋण निकालेकी तथा आफ्नै बचतसमेत प्रयोग गरेको बताएकी छन् । तर रकम फिर्ता गर्ने वाचा गरेको चार वर्ष बित्न लाग्दा पनि पन्थ सम्पर्कमा नआएको उनको गुनासो छ ।
कृषि ऋणमार्फत लिएको रकमको साँवा-ब्याजसमेत फिर्ता गरिदिने आश्वासन दिए पनि पन्थले रकम फिर्ता नगरेको उनको भनाइ छ।
काठमाडौंको गोंगबुमा रेष्टुरेन्ट तथा बंगुर पालन व्यवसाय गर्दै जीविका चलाइरहेको बताउने पीडित पौडेलले अनुसार सुरुमा पन्थले ‘बर्दिया आउ, ब्याजको रकम दिन्छु’ भन्ने गरेका थिए। तर अहिले फोन गर्दा ‘कार्यक्रममा छु’ भन्दै टार्ने गरेको उनको आरोप छ। आफ्नो पैसा माग्दा हाल पन्तले ‘मैले पैसा लिएको के प्रमाण छ?’ भन्दै अस्वीकार गर्ने गरेको उनले बताइन्।
पन्थसँग निकट सम्बन्ध भएका राजेन्द्र नामका एक स्थानीय जनप्रतिनिधिले ‘तपाईंको पैसा दिलाइदिन्छु’ भन्दै पटक–पटक आश्वासन दिएको पनि जानकीले उल्लेख गरेकी छन्।
यसैबीच, पन्थविरुद्ध २७ लाख २५ हजार ६४२ रुपैयाँ बराबरको चेक अनादर (बाउन्स) भएको प्रमाणित भएको बताइएको छ। २०८२ कात्तिक ११ गते रकम भुक्तानीका लागि पत्र पठाइएको र २०८२ माघ ४ गते चेक अनादर प्रमाणित गरिएको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सूचना जारी गरेको जनाइएको छ।
पन्थआगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट बर्दिया क्षेत्र नम्बर २ का उम्मेदवार हुन्।
उनी हाल तारा चुनाव चिन्ह लिएर मतदातासँग मत माग्दै हिँडिरहेका छन् र विजयी भए देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाइरहेका छन्।





