चुनावको मुखैमा शेरबहादुर देउवा सिंगापुर प्रस्थान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । विमानस्थल सुरक्षास्रोतका अनुसार देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एअरलाइन्सको उडानबाट सिंगापुर गएका हुन् ।

उनी सोही राति करिब साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित स्टेरलाइज एरियामा देखिएका थिए ।

स्रोतका अनुसार उनीसँग अन्य २-३ जना पनि साथमा थिए । यसअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तनपछि राजनीतिक रूपमा निष्क्रिय देखिएका देउवाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने चर्चा सार्वजनिक भएको थियो ।

विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि उनी केही समय सार्वजनिक गतिविधिबाट टाढिएका थिए । निर्वाचन आयोगबाट आधिकारिकता नपाएको विषय र सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआएपछि उनले अन्तिमपटक ‘रुख’ चुनाव चिह्नबाट उम्मेदवारी दिने प्रयास गरेका थिए ।

तर नयाँ नेतृत्वबाट टिकट नपाएपछि उनी प्रतिनिधि सभा निर्वाचनका सम्पूर्ण प्रक्रियाबाट बाहिरिएका थिए ।

पार्टीका पदाधिकारीहरूले उनलाई चुनावी अभियानमा सहभागी गराउन विभिन्न प्रयास गरे पनि देउवाले सक्रियता देखाएका थिएनन् । कांग्रेस उम्मेदवारको पक्षमा सार्वजनिक अपिल गराउने प्रयाससमेत सफल हुन सकेको थिएन ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवालाई पार्टीको चुनावी अभियानमा सहभागी गराउने पहल भइरहेको बताएका थिए । तर देउवा सचिवालयले भने उनले कसैसँग भेटघाट वा प्रचार अभियानमा सहभागी हुने योजना नरहेको स्पष्ट पारेको थियो ।

डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका देउवा यसपटक उम्मेदवारी नपाएपछि सार्वजनिक रूपमा कमै देखिएका थिए । उनको स्थानमा कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।

यसपटक देउवा मतदानका लागि डडेलधुरा नजाने चर्चा समेत बाहिरिएको थियो ।

सिफारिस