इलाम । ओमबहादुर गुरुङ ‘सौरव’ ले इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो उम्मेदवारीसँगै महत्वाकांक्षी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले समृद्ध इलाम निर्माणका लागि तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका गुरुङले सुशासन, आर्थिक समृद्धि, जनअधिकार र समाजवादमुखी यात्रालाई आफ्नो अभियानको मूल आधार बनाएका छन्।
सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। बीउबिजनमा अनुदान व्यवस्था, कृषिजन्य उत्पादनको व्यवस्थित बजारीकरण, सुकुम्बासी तथा भूमिहीन किसानको पहिचान र भूमि व्यवस्थापनमा पहल गर्ने योजना उनले अघि सारेका छन्।
पाँच लाख रुपैयाँसम्म लगानी भएका कृषि उद्योग निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाइने, दुग्ध किसानलाई उचित मूल्य सुनिश्चित गरिने तथा ‘मिल्क होलिडे’ अन्त्य गर्न धुलो दूध उद्योग स्थापना गरिने उल्लेख गरिएको छ।
साथै चिया किसानले उत्पादन गर्ने हरियो पत्तीको मूल्य स्थायित्वका लागि उद्योगीसँग समन्वय गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
स्वास्थ्य क्षेत्र सुधारका लागि आपतकालीन स्वास्थ्य कोष स्थापना, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने तथा प्रत्येक स्थानीय तहमा विशेषज्ञ सेवासहितका सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना समेटिएको छ।
इलाम जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरी जिल्लालाई मेडिकल हब बनाउने लक्ष्यसमेत राखिएको छ।
पर्यटन प्रवर्द्धनतर्फ सदरमुकाम वरपरका चिया बगानसहित पानिटार, जितपुरको ध्याउ पोखरी, सिद्धिथुम्का, गुफाथुम्की, पाटेनागी र खान्दुङ गुफा जस्ता क्षेत्रको सौन्दर्यकरण गरिने योजना छ। साथै माइपोखरी, गजुरमुखी, लारुम्बा, माइस्थान र नारायणस्थानलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
युवा लक्षित कार्यक्रमअन्तर्गत सीटीईभीटीसँग सहकार्य गरी सीपमूलक तालिम सञ्चालन, स्वरोजगार प्रवर्द्धन, दुर्व्यसन नियन्त्रण अभियान तथा रोजगारमुखी शिक्षालाई अनिवार्य बनाउने योजना अघि सारिएको छ। सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन, गरिबी दर पाँच प्रतिशतमा झार्ने, वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने, दलित तथा अल्पसंख्यक युवालाई सहुलियत ऋण उपलब्ध गराउने, सबै किसानलाई परिचयपत्र वितरण गर्ने र स्वास्थ्य बीमा सर्वसुलभ बनाउनेजस्ता लक्ष्य पनि प्रतिबद्धता पत्रमा समेटिएका छन्।
तारा चिन्हबाट उम्मेदवारी दिएका गुरुङले आफूलाई अत्यधिक बहुमतले विजयी गराई समृद्ध इलाम–२ निर्माणको अभियानमा सहभागी हुन मतदातासँग आह्वान गरेका छन्। उनले यो प्रतिबद्धता पत्रलाई चुनावी दस्तावेज मात्र नभई साझा संकल्प र कार्यदिशाको रूपमा कार्यान्वयन गर्ने दृढता व्यक्त गरेका छन्।