रास्वपा नवलपरासी पश्चिमका जिल्ला सभापति महेन्द्रसिंह ठकुरी कांग्रेस प्रवेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी पश्चिम जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्। बिहिबार बर्दघाट-१२ मा आयोजित चुनावी आमसभामा ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा तथा केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम-१ का उम्मेदवार विनोद चौधरीले ठकुरीलाई पार्टीमा स्वागत गरेका हुन्।

ठकुरीसँगै पश्चिम नवलपरासीका दर्जनौँ रास्वपा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको बताइएको छ । पार्टी प्रवेशपछि सम्बोधन गर्दै ठकुरीले रास्वपाले सक्षमताको आधारमा नभई विभिन्न प्रलोभनका आधारमा चुनावी टिकट बाँडेको बताए।

सक्षमतालाई कदर गर्न नसक्ने पार्टीमा आफु बस्न नसक्ने भन्दै उनले रास्वपा छाडेको बताए । बदलिएको कांग्रेसको परिवेश र नेतृत्वप्रति विश्वासका कारण आफू कांग्रेसप्रति आकर्षित भएको उनको भनाइ थियो।

रास्वपामा पारदर्शिता, न्याय र विधिको शासनको अभाव रहेको उनको आरोप छ । ‘रास्वपामा न्याय मरेको छ। कांग्रेसले मलाई न्याय दिएको छ, दिनेछ,’ ठकुरीले भने, ‘यस्तो पार्टीले देश हाँक्न सक्दैन, सामाजिक सञ्जाल मात्र हाँक्ने हो ।’

ठकुरीले नवलपरासी पश्चिम-१ मा कांग्रेसले सबैभन्दा सक्षम उम्मेदवारका रूपमा विनोद चौधरीलाई अघि सारेको उल्लेख गर्दै उनको जित सुनिश्चित रहेको बताए।

२०७९ सालको आम निर्वाचनमा ठकुरीले सोही क्षेत्रबाट १२ हजार मत प्राप्त गरेका थिए।

सिफारिस