नवलपरासी पश्चिमको सुस्तामा मल कारखाना स्थापना हुँदै, निर्माण कार्य तीव्र गतिमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । चौधरी ग्रुप ले नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३, श्रीनगरमा मल कारखाना स्थापना गर्ने तयारी अघि बढाएको छ। यसअघि केरा चिप्स उद्योग सञ्चालन गर्ने उद्देश्यले खरिद गरिएको जग्गामा अब कृषि सम्बन्धी उद्योगका रूपमा मल कारखाना स्थापना गर्न लागिएको हो।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पालिकामा मल कारखाना खुल्न लागेको जानकारी दिए । सुरुमा सो स्थानमा केरा चिप्स उद्योग स्थापना गर्ने लक्ष्य राखिए पनि स्थानीय रूपमा उत्पादन हुने केराको गुणस्तर अपेक्षाअनुसार नभएकाले योजना परिवर्तन गरिएको बताइएको छ। त्यसपछि कृषि क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने उद्योग स्थापना गर्ने निर्णय गरिएको हो।

अध्यक्ष उपाध्यायका अनुसार सोही जग्गामा मल कारखाना स्थापना गर्न आवश्यक सबै प्रक्रिया पालिकाबाट पूरा भइसकेको छ भने सम्बन्धित सरकारी निकायबाट स्वीकृति समेत प्राप्त भइसकेको छ। उनले चुनावी घरदैलोका क्रममा नेपाली कांग्रेस का उम्मेदवार विनोद चौधरी सुस्ता आएको अवसरमा निर्माणस्थलको अवलोकन गरिएको उल्लेख गरेका छन्। निर्माणको प्रगतिबाट आफू उत्साहित भएको जनाउँदै उनले यस उद्योगले नवलपरासीका किसानले वर्षौँदेखि भोग्दै आएको मल अभाव समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

हाल निर्माणाधीन कारखानामा रासायनिक मल, जैविक मल तथा अन्य कृषिजन्य उत्पादन औद्योगिक रूपमा उत्पादन गर्ने योजना छ। प्रारम्भिक चरणमै जिंक सल्फेट मोनोहाइड्रेट उत्पादन गर्ने अत्याधुनिक रासायनिक मल उद्योगको निर्माण सुरु भइसकेको र काम तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ। जिंकयुक्त मलले माटोमा देखिने सूक्ष्म पोषक तत्वको कमी पूर्ति गरी कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पश्चिम नवलपरासीका अधिकांश नागरिकको मुख्य जीविकोपार्जन कृषि नै हो। उखु, धान लगायतका बाली यहाँका प्रमुख उत्पादन हुन्। तर हरेक वर्ष रासायनिक मलको अभाव, ढुवानी समस्या, महँगो मूल्य र आपूर्ति असन्तुलनका कारण किसानहरूले ठूलो कठिनाइ भोग्दै आएका छन्। प्रस्तावित मल कारखाना सञ्चालनमा आएपछि यी समस्यामा केही हदसम्म सुधार आउने आशा गरिएको छ।

सिफारिस