काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टीले विस्तृत चुनावी अपिल सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालद्वारा जारी अपिलमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रह गरिएको छ।
अपिलको सुरुवातमा पार्टीले लोकतान्त्रिक आन्दोलन तथा कम्युनिष्ट आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गरेको छ।
बाइस वटा कम्युनिष्ट तथा समाजवादी पार्टी र समूह मिलेर नयाँ एकीकृत स्वरूपमा पार्टी निर्माण गरिएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षामा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याइएको छ।
पार्टीले संघीयता, समानुपातिक र समावेशी सहभागितासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै समाजवादी लोकतन्त्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। वर्तमान व्यवस्थाविरुद्ध भइरहेका ‘षड्यन्त्र’ परास्त गर्दै राजनीतिक स्थिरता कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
संविधानलाई जननिर्वाचित संविधान सभाबाट निर्मित उत्कृष्ट दस्तावेजको संज्ञा दिँदै पार्टीले यसको खारेजीको विपक्षमा उभिने तर आवश्यक परिमार्जन संविधानले तोकेको प्रक्रियाअनुसार गर्न सकिने धारणा राखेको छ। निर्वाचन प्रणाली खर्चिलो र जटिल भएको उल्लेख गर्दै त्यसलाई सरल र कम खर्चिलो बनाउने एजेन्डा पनि अघि सारिएको छ।
सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धतासहित उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने घोषणा अपिलमा गरिएको छ। भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने अडानसमेत व्यक्त गरिएको छ।
सामाजिक क्षेत्रमा वर्गीय, जातीय, लैङ्गिक तथा अन्य प्रकारका विभेद अन्त्य गर्ने, छुवाछुत, छाउपडी र डाइनी–बोक्सीजस्ता कुरीतिविरुद्ध कडा कदम चाल्ने उल्लेख गरिएको छ। उत्पादन वृद्धि, कृषि तथा उद्योग विकास, ऊर्जा विस्तार, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई मुख्य आर्थिक प्राथमिकता बनाइएको छ।
पार्टीले आयातआधारित अर्थतन्त्र, व्यापार घाटा, बेरोजगारी, वैदेशिक ऋण वृद्धि र महँगीलाई प्रमुख चुनौतीका रूपमा औँल्याउँदै स्वाधीन अर्थतन्त्र निर्माण गर्ने लक्ष्य प्रस्तुत गरेको छ। प्रगतिशील कर प्रणाली, वित्तीय क्षेत्र सुधार र लक्षित वर्ग केन्द्रित गरिबी निवारण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
प्राकृतिक स्रोत संरक्षणसहित दिगो विकासको नीति अवलम्बन गर्ने र विपद् जोखिम व्यवस्थापनलाई विकास योजनामा समेट्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
अपिलमा ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’लाई दीर्घकालीन लक्ष्यका रूपमा प्रस्तुत गर्दै आर्थिक–सामाजिक रूपान्तरणका महाअभियान सञ्चालन गर्ने घोषणा गरिएको छ। राजनीतिक परिवर्तनअनुरूप जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गर्दै अब अवस्था परिवर्तन गर्ने दाबी गरिएको छ।
परराष्ट्र नीतिमा राष्ट्रिय हितलाई सर्वोपरि राख्दै समानता, अहस्तक्षेप र पारस्परिक लाभका आधारमा सबै मुलुकसँग सम्बन्ध विस्तार गर्ने उल्लेख छ। असमान सन्धि–सम्झौता खारेज गर्ने र अतिक्रमित भूमि फिर्ता ल्याउने प्रतिबद्धता पनि जनाइएको छ।
अन्त्यमा, विगतका कमी–कमजोरीप्रति आत्मालोचना गर्दै यस पटक मतदाताले तारा चिन्हमा मतदान गरी देशको अवस्था परिवर्तन गर्ने अवसर प्रदान गर्न पार्टीले आग्रह गरेको छ।