धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले अवैध लागू औषधसहित तीन जना र लागु औषध सेवन गरि गाडी चलाउने तीन जना गरि ६ जनालाइए पक्राउ गरेको छ। उनीहरुलाई मंगलबार बिहान करिब १०ः१० बजे गजुरी गाउँपालिका-६ आदमघाटबाट पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहालका अनुसार च्याङ्ली पिडाबाट आदमघाटतर्फ आउँदै गरेको बा ३ ख ९०९२ नम्बरको बसमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी तथा अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको टोलीले आदमघाटमा बस रोकी चेकजाँच गरिएको थियो।
पक्राउ पर्नेहरुमा कास्की जिल्ला पोखरा महानगरपालिका-६ बैदाम बस्ने ५५ वर्षीय दामोदर गिरी, धादिङ गजुरी गाउँपालिका-४ गैरीगाउँ बस्ने २५ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ गाउँखोला बस्ने १८ वर्षीय सन्दीप तामाङ रहेका छन् ।
उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालत बाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
त्यसैगरि चेकजाँचका क्रममा प्लास्टिकको बट्टाभित्र लुकाईछिपाई ल्याइएको ७ किलो १० ग्राम गाँजाको धुलो (पोल्याण्ड) फेला पारिएको प्रहरीले जनाएको छ।
यसैबीच, फागुन १३ गते पृथ्वी लोकमार्गअन्तर्गत गल्छी गाउँपालिका–६ बैरेनी बजार क्षेत्रमा सवारी चालकहरूमा लागू पदार्थ सेवन गरेको नगरेको परीक्षण गर्ने क्रममा तीन जना चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बैरेनी अस्पताल सँगको सहकार्यमा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएको हो।
पक्राउ पर्नेहरूमा बारा कोहल्बी नगरपालिका-२ बस्ने २९ वर्षीय चन्द्रबहादुर शाही, कास्की पोखरा महानगरपालिका-६ बस्ने ४२ वर्षीय रामकाजी खड्का र धादिङ गजुरी गाउँपालिका-७ बस्ने २३ वर्षीय विपेन्द्र पण्डित रहेका छन्।
उनीहरूविरुद्ध पनि लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत लागू औषध सेवन शीर्षकमा मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालत बाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।