पैसा होइन, मुद्दा लिएर आएको छु : जेन-जी उम्मेदवार विकास रसाइली

दियोपोस्ट संवाददाता  

चितवन । जेनजी आन्दोलनका अभियन्ता विकास रसाइली यतिबेला चुनाबी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन–१ बाट उम्मेदवारी दिएका उनले जेनजीका मुद्धा लिएर चुनावी मैदानमा होमिएको बताएका छन् ।

चितवन १ का मतदातासंग भोट माग्ने क्रममा रसाइलीले पैसाको प्रभावविरुद्ध ‘विचार र एजेण्डाका आधारमा मत दिन आग्रह गरे । ‘आजको ५ हजार रुपैयाँले पाँच वर्षको भविष्य अन्धकार बनाउन सक्छ। म पैसा होइन, मुद्दा लिएर आएको छु ।,’ उनले भने।

सो अवसरमा उनले चितवन-१ मा पुराना दलहरूको बलियो प्रभाव भए पनि आफू स्थानीय माटोसँग जोडिएको उम्मेदवार भएको उनले दाबी गरे।

‘म त्यहीँको सरकारी विद्यालयमा पढेको, त्यहीँको धुलोमा हुर्किएको मान्छे हुँ। मलाई भेट्न अपोइन्टमेन्ट चाहिँदैन,’ उनले भने, ‘जनता र प्रतिनिधिबीचको दूरी मेट्न आएको हुँ।’

यस क्षेत्रका प्रमुख समस्यामा उनले शिक्षा र बेरोजगारी, स्वास्थ्य सेवाको पहुँच, किसानले उचित मूल्य नपाउनु, निकुञ्ज-मानव बस्ती द्वन्द्व, सुकुम्बासी तथा भूमिहीन समस्या रहेको उनले उनले बताए । चेपाङ तथा थारु समुदायको उत्थानलाई आफ्नो एजेण्डा बनाएको उनी बताउँछन् ।

‘चितवन-१ तरकारी, केरा, दूध र पोल्ट्रीको हब भए पनि किसानले उचित मूल्य नपाएको भन्दै त्यसका लागि पनि आफुले पहल गर्ने उनले बताए ।

आफ्ना प्रतिस्पर्धीहरू हरि ढकाल, राजेन्द्र बुर्लाकोटी र दावा दोर्जे लामाप्रति सम्मान व्यक्त गर्दै उनले भने, ‘उहाँहरू अनुभवी हुनुहुन्छ, तर जनताले अब दृष्टिकोण र डेलिभरी खोजेका छन्। यसपालि पात्र मात्र होइन, प्रवृत्ति बदल्ने मुड छ।’

प्रशासनिक र न्यायिक संरचनामा व्यापक सुधार आवश्यक रहेको उनको धारणा छ। २०२७ सालको ऐनमा आधारित प्रशासनिक ढाँचा, ढिलासुस्तीपूर्ण न्याय प्रणाली र मौलिक ज्ञानविहीन शिक्षा प्रणालीले राज्यलाई जकडेको उनले बताए। ‘पात्र बदल्दैमा हुँदैन, संरचनाको ओभरहालिङ चाहिन्छ,’ उनले जोड दिए।

प्रलोपाले केही स्थानमा नेकपा एमालेसँग गरेको तालमेलप्रति भने उनले असहमति जनाए। ‘सैद्धान्तिक रूपमा म यसको पक्षमा छैन। परिवर्तनको मर्म नबुझ्ने शक्तिसँगको सहकार्य दीर्घकालीन हुँदैन,’ उनले भने।

फागुन २१ पछि स्पष्ट बहुमतसहित स्थिर सरकार आवश्यक रहेको बताउँदै उनले विदेशिएका युवालाई फर्काउने, किसानको पसिनाको मूल्य सुनिश्चित गर्ने र स्वास्थ्य सेवा सुलभ बनाउने सरकारको परिकल्पना गरे। आफू सदनमा ‘सचेत पहरेदार’का रूपमा प्रस्तुत हुने उनको प्रतिबद्धता छ।

उनले भदौ २३-२४ को बलिदान नबिर्सन मतदातालाई आह्वान गरेका छन् । ‘भोट केवल चिन्हमा छाप होइन, आफ्नो भविष्यको फैसला हो। नयाँ नाममा सबै राम्रो हुँदैन, पुरानो नाममा सबै नराम्रो हुँदैन-विचार र धरातल हेरेर निर्णय गर्नुहोस्।’ उनले भने ।

रसाइली प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट ‘आँखा’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

 

सिफारिस