काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउन सर्वसाधारणमा आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको होली पर्वलाई सामाजिक सद्भाव र भाइचाराको वातावरणमा मनाउन सबैमा अपिल गरेको हो।
सूचनामा पछिल्ला वर्षहरूमा होली मनाउने क्रममा अनावश्यक तडक-भडक, मदिरा सेवन, सार्वजनिक स्थानमा होहल्ला, जबर्जस्ती रंग दल्ने, पानीका फोहोरा तथा लोला हान्ने जस्ता गतिविधि बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यले शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा असर पार्ने जनाएको छ। सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ तथा प्रचलित कानुनअनुसार धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू व्यवस्थित र मर्यादित ढंगले मनाउनुपर्ने स्पष्ट गरिएको छ।
जिल्ला प्रशासनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी जारी निर्वाचन आचारसंहिता, २०८२ को समेत स्मरण गराउँदै जलुस वा आमसभामा सहभागी हुँदा वा प्रचारप्रसारका क्रममा दल वा उम्मेदवारको चुनाव चिह्न अंकित लोगो, स्टिकर, कपडा, टोपी, व्याग, टी-सर्ट, ज्याकेट, कमिज, गम्छा, मफलर वा लकेट प्रयोग गर्न नपाइने व्यवस्था रहेको जनाएको छ।
होली पर्वका अवसरमा पनि निर्वाचन चिह्न वा उम्मेदवारको तस्वीर अंकित सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ। कार्यालयले सार्वजनिक सडक तथा स्थानमा भीडभाड, मेला–महोत्सव, सांगीतिक कार्यक्रम आयोजना गर्ने, मदिराजन्य पदार्थको बिक्री-वितरण तथा सेवन गर्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेको छ।
आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुने गरी पर्व मनाउन र कुनै पनि अवाञ्छित, उच्छृंखल वा गैरकानुनी गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ। जिल्ला प्रशासन कार्यालयले सबैलाई आ-आफ्नो घर-परिवार तथा साथीसंगीहरूसँग सभ्य र सुरक्षित रूपमा होली पर्व मनाउन आग्रह गरेको छ।
