काठमाडौँ । धादिङ क्षेत्र नं. २ नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएको छ । धमलाले धादिङबेसीस्थित निलकण्ठ क्याम्पसको हलमा त्यहाँका विद्यार्थीहरुबीच चुनावी भेटघाट कार्यक्रम आयोजना गरी आचारसंहिता उल्लंघन गरेका हुन् ।
शुक्रबार बिहान क्याम्पसमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ फागुन २१ का सन्दर्भमा आयोजित विद्यार्थी भेटघाट कार्यक्रम’ लेखिएको ब्यानरसहित कार्यक्रम गरिएको थियो। नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागितामा चुनावी कार्यक्रम गरेका थिए।
उक्त कार्यक्रममा उम्मेदवार धमला अतिथिका रूपमा मञ्चमा देखिएका छन् । कार्यक्रममा उनले विद्यार्थीहरूसँग चुनावी छलफल गर्नुका साथै आफ्नो दलको चुनाव चिह्न ‘रुख’ मा मतदान गर्न आग्रह समेत गरेका थिए ।
तर कुनै पनि शैक्षिक संस्थामा निर्वाचन सम्वन्धि कार्यक्रम गर्नु आचार संहिता बिपरित कार्य मानिन्छ । निर्वाचन आचार संहिता २०८२ मा कुनै पनि सरकारी निकाय, सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालय तथा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला, प्रचार-प्रसार गर्न वा गराउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
यस आधारमा धमलाको उक्त गतिविधि आचारसंहिताविपरीत कार्य हो ।