क्यान्सरले थलिएका अर्घाखाँचीका रुक बहादुर नेपाली: आर्थिक अभावका कारण जीवन-मरणको दोसाँधमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. १ भर्ला निवासी ४० वर्षीय रुक बहादुर नेपाली यतिबेला क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन्। तर उनको रोगभन्दा पनि आर्थिक अभाव ठुलो चुनौती बनेर उभिएको छ । उपचारका लागि खर्च जुटाउन नसकेपछि उनले आर्थिक सहयोगको याचना गरेका छन् ।

हाल उनको उपचार भरतपुरस्थित क्यान्सर अस्पतालमा भइरहेको छ। उनकी श्रीमती संगीता नेपालीका अनुसार डाक्टरहरूले केमोथेरापी तत्काल सुरु गर्न सुझाव दिएका छन्। ‘डाक्टरले केमो चढाउनुपर्छ भन्नुभएको छ, तर पैसा नभएकाले हिजो उहाँलाई घर फर्काएर ल्याएँ’ उनले पीडा व्यक्त गरिन्।

रुक बहादुर लामो समयदेखि रोजगारीका सिलसिलामा भारतमा कार्यरत थिए। केही महिनाअघि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनी नेपाल फर्किएका थिए। पिसाबबाट रगत बग्ने, ढाड दुख्ने र अत्यधिक कमजोरी महसुस हुने लक्षण देखिएपछि उनी उपचारका लागि काठमाडौँस्थित वीर अस्पतालमा भर्ना भएका थिए।

जाँचका क्रममा उनको किड्नीमा ट्युमर भेटिएको थियो र एउटा किड्नी पूर्णरूपमा बिग्रिएको रिपोर्ट आएपछि शल्यक्रिया गरेर एउटा किड्नी निकालिएको थियो ।

शल्यक्रियापछि केही समय स्वास्थ्यमा सुधार देखिए पछि उनी पुनः रोजगारीमा फर्किए । तर उनले पहिलेझैँ काम गर्न सकेनन्। भारत पुगेलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनी पुनः नेपाल फर्किए।

थप परीक्षणपछि चिकित्सकहरूले उनलाई चौथो चरण को क्यान्सर भएको पुष्टि गर्दै केमोथेरापी गर्न सुझाव दिएका थिए। तर आर्थिक अभावका कारण उपचार अघि बढाउन नसकिएको श्रीमती संगीता नेपालीले दियोपोष्टसंग भनिन् ।

सानैमा बुवा गुमाएका रुक बहादुरको काँधमा वृद्ध आमा, श्रीमती र दुई साना बालबच्चाको जिम्मेवारी छ। परिवारको मुख्य आम्दानीकर्ता नै गम्भीर बिरामी भई थला परेपछि परिवारको आर्थिक अवस्था झन् दयनीय बनेको छ।

आर्थिक अभावका कारण उनको अवस्था झन झन बिग्रदोँ छ । उनी जीवन-मरणको दोसाँधमा छटपटाइरहेका छन् । उनले आफ्नो जीवन बचाउन आर्थिक सहयोगको अपिल गरेका छन् । सहयोगी मन भएका संघ-संस्था तथा व्यक्तिहरूले सहयोग गरिदिएमा उपचार सम्भव हुने उनले बताए।

नोट- (उनलाई आर्थिक सहयोग गर्न चाहाने सहयोगी मनहरुले नेपाल एसबिआई बैंकमा रहेको खाता नम्बर 20915240703416 (SWIFT: NSBINPKA)या क्यूआर कोडमार्फत सिधै स्क्यान गरेर रकम जम्मा गरिदिन सक्नुहुनेछ।)

सिफारिस