काठमाडौं । नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एक मात्र भरपर्दो प्ल्याटर्फमको रूपमा पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप कपन, ढलाने ब्रिज नजिँकै सञ्चालनमा ल्याएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वार उक्त वर्कशकको उद्घाटन गरिएको थियो । सो अवसरमा आरवाईडी नेपालका अध्यक्ष अभिषेक खतिवडाले ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै वर्कसप सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले भने, ‘हामीले सुरुदेखि नै सुरक्षित र भरपर्दो सेवा दिने लक्ष्य लिएका छौं, आफ्नै वर्कसप सञ्चालनमा आएपछि सेवा अझ व्यवस्थित र प्रभावकारी हुनेछ, आगामी दिनमा सेवा विस्तार गर्दै शाखा तथा प्राविधिक केन्द्र स्थापना गर्ने योजना बनाएका छौं ।’
सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सय वटा पुर्याएको छ । नयाँ वर्कसपमा अनुभवी प्राविधिक टोलीमार्फत बाइकको नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण, पार्ट्स प्रतिस्थापन लगायतका सेवा उपलब्ध गराइने बताइएको छ ।
‘अब कमाउने पालो तपाईंको’ भन्ने नारा राख्दै आएको आरवाईडी नेपाल काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड–न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउँदे आएको छ ।
राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन ८०० रूपैयाँ मात्र भाडा तोकेको छ । यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता नभएको बताइएको छ । आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्नसक्ने मोडल पनि तयार गरेको छ ।
यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ । सञ्चालक टिमका अनुसार कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप १५ सय को पेट्रोल पनि उपलब्ध गराउने बताइएको छ । आरवाईडी नेपालको उद्देश्य बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु रहेको जानकारी दिइएको छ ।
राइडरलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूले भोग्ने समस्या समाधानमा कम्पनी अभिभावकको रूपमा प्रस्तुत भइरहेको कम्पनीले जनाएको छ । आरवाईडीले डिजिटल प्लेटफर्ममार्फत सहज बुकिङ सुविधा उपलब्ध गराउँदै आएको बताइएको छ ।
ग्राहकले अनलाइन प्रणालीमार्फत आफूलाई आवश्यक पर्ने समय र मोडल छनोट गरी सेवा लिनसक्ने व्यवस्था रहेको पनि अध्यक्ष खतिवडाले जानकारी दिए ।
वर्कसप सञ्चालनसँगै अब बाइकको अवस्था अझ चुस्त राख्न मद्दत पुग्ने र आकस्मिक प्राविधिक समस्या समाधान छिटो गर्न सकिने कम्पनीले जनाएको छ ।
यो वर्कसप सञ्चालनले कम्पनीको सेवा गुणस्तर उकास्नुका साथै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने विश्वास गरिएको खतिवडाले बताए । बाइक भाडा सेवामा प्रतिस्पर्धा बढिरहेको अवस्थामा आरवाईडी नेपालको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
उद्घाटन समारोहमा नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्मा, सीजी मोटर्सका सीईओ कपिल सिवाकोटी लगायत अटो क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।
