रक्षामन्त्री पोखरेल भन्छन्, ‘युवापुस्तामा देशभक्तिको भावना हुनु जरुरी छ’

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ५ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान युवापुस्तामा देशभक्तिको भावना र स्वाभिमानी बिचारबाट अभिप्रेरित हुन आवश्यक रहेको बताएका छन् ।

ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको १४ औँ सिनियर डिभिजन तालिम दिक्षान्त कवाज कार्यक्रममा बोल्दै उनले युवा पुस्तामा राष्ट्रियताको भावना विस्तारै कम हुँदै गएको र युवा पुस्ताले राष्ट्रवादी भावनालाई उच्च महत्व दिएर काम गर्न सुझाव दिएका छन् ।

समृद्धी नेपाल र सुखी नेपालीको अभियानलाई साकार पार्नका लागि सामाजिक सद्भावको बलमा राष्ट्रिय भावनालाई बलियो तुल्याउनु आजको आवश्यकता रहेको औँल्याएका छन् । यसका लागि युवापुस्ता नै अगाडी बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सेवा दलले युवा पुस्तालाई अनुशासित, मर्यादित, संस्कारयुक्त, राज्यका संस्थाप्रति सम्मान र समर्पित हुँदै राष्ट्रियताप्रति बफादार भई नेतृत्व व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्यले २०२२ बाट यस प्रकारको तालीम सञ्चालन गर्दै आएको छ ।

सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपद्का नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले मुलुकभरका निजी तथा सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्रलाई सेवा दलले तालीम प्रदान गर्दै आएको छ । हालसम्म ४३ हजार ६३२ जना क्याडेट छात्रछात्राले सफलतापूर्वक उक्त तालीम लिइसकेको सो अवसरमा जानकारी दिइयो । सेवा दलले यो आवमा २१६ विद्यालयका सात हजार ७०० छात्रछात्रालाई तालीममा सहभागी गराएको थियो ।

सेवा दलका अनुसार तीमध्ये सिनियर डिभिजनतर्फ एक हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६२० जना छन् । तीमध्ये आज ५१४ छात्रछात्रा दीक्षित भएका हुन् । समारोहमा सेवा दलका सहसंरक्षक एवं प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव विष्णुप्रसाद लम्सालले समेत तालीमका प्रशिक्षार्थीलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए। राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक रमीन्द्र क्षत्रीले सङ्गठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै युवा पुस्तामा देशभक्तिको भावना जागृत तुल्याउन तालीम निकै फलदायी भएको बताए ।

सम्बन्धित खबर

सिफारिस