असोज ९ देखि तीन दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध

दियोपोस्ट संवाददाता

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ ।

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय प्रणाली हाल बङ्गालको खाडीको मध्य भागमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएर पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने देखिएको हो ।

यसको प्रभाव बुधबारदेखि नै नेपालमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ । मौसमविद् डेबिड ढकालका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ ।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक-दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।

भारी वर्षाको समयमा काठमाडौं उपत्यकासहित देशभर सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । मौसमविद् ढकालले कमजोर भूभागमा बसोबास गर्नेहरूलाई सम्भव भएसम्म सुरक्षित स्थानमा सर्न र विशेषगरी खोलानाला तथा नदी किनार आसपास सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसमविद् अनिशा निरौलाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली अझ बलियो हुँदै पश्चिम-उत्तरपश्चिमतर्फ सर्दैछ। उक्त प्रणाली असोज ७ गते साँझसम्म दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना रहेको छ ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्नसक्ने जनाएको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत रहेकाले नदी, खोला तथा नालामा पानीको सतह बढ्नसक्ने चेतावनी दिइएको छ ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात र नदी आसपासका निर्माण कार्य प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, मौसम प्रणालीको प्रभाव हिमाली क्षेत्रमा समेत पर्ने भएकाले भारी हिमपात हुनसक्ने जनाउँदै पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सिफारिस