
काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई कैद सजाय माफी दिने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीको कैद सजाय माफीविरुद्ध परेको रिट खारेज गर्ने आदेश दिएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारले सिफारिस गरेपछि तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा कैद सजाय पूरा नहुँदै माफी दिएका थिए ।
सरकारको उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।