
काठमाडौँ । न्याय सेवा आयोग, परीक्षा महाशाखाले जिल्ला न्यायाधीश पदका लागि आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको छ । आयोगले नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख)र (ग) बमोजिम योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।
आयोगले आन्तरिक खुलातर्फ २, खुलातर्फ १ र दलित समावेशीतर्फ १ गरी कुल ४ जना जिल्ला न्यायाधीश पदका लागि दरखास्त माग गरेको छ ।
सूचना अनुसार लिखित परीक्षा आगामी मंसिर १ गतेदेखि सुरु हुनेछ। प्रथम, द्वितीय, तृतीय र चौथो पत्रको परीक्षा क्रमशः २०८३ मंसिर १, २, ३ र ४ गते दिउँसो १ बजे सञ्चालन हुनेछ ।
दरखास्त दस्तुर आन्तरिक खुला र खुलाका लागि २ हजार तथा प्रत्येक समावेशी समूहका लागि थप ५ सय तोकिएको छ । यो दस्तुर राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन सकिनेछ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र न्याय परिषद् सचिवालय, रामशाहपथमा दरखास्त दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म पनि आवेदन फारम बुझाउन सकिने व्यवस्था गरिएको छ।
