
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय नख्खु, ललितपुरबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ का २६ वर्षीय आर्यन पुरी रहेका छन् । उनलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएको थियो ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका पुरीलाई काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
प्रहरी टोलीले उनलाई काभ्रेको मण्डनदेउपुर नगरपालिका-८ कुन्ताबेँसीबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई कारागार कार्यालय नख्खुमा बुझाइएको प्रहरीले जनाएको छ ।
कारागारबाट फरार हुँदा पुरीले १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेको थियो ।