धादिङको समृद्धिबारे प्रचण्ड कथन : सल्यानटारलाई नमुना सहर बनाउनेदेखि रेल कुदाउनेसम्म

दियो पोस्ट  


काठमाडौं, ५ फागुन । धादिङको सल्यान्टार पुगेपछि काठमाडौंका पूर्व मेयर तथा प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले भनेका थिए–‘यो त सुनको कचौरा रहेछ ।’


स्थापितले भनेको सुनको कचौरा सल्यानटारलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नमुना सहरको रुपमा विकास गर्ने घोषणा गरे ।


त्रिपुरासुन्दरी गाउँपालिका ४ सल्यानकोटमा रहेको कार्कीगाउँ माध्यामिक विद्यालयको भवन उद्घाटन गर्न पुगेका उनले धादिङबासीलाई विभिन्न आशा देखाए ।


राजधानी काठमाडौँसँग जोडिएको धादिङलाई ‘बत्ति मूनिको अध्याँरो’ जिल्ला भनेर सम्बोधन गरिने चलन नै छ । ठूला नेताहरुले भाषणका क्रममा आश्वासनको विभिन्न पोकाहरु विगतदेखि नै छर्दै आएका थिए । तर, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले उठाएका केही विषय प्रोजेक्टको रुपमा अघि बढिसकेको छ ।

१२ सय मेघावटको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण सम्पन्न हुँदैछ । मध्य पहाडी लोकमार्ग सल्यान्टारलाई केन्द्रमा राखेर अघि बढिरहेको छ । बुढीगण्डकी आयोजना सम्पन्न हुँदा सल्यान्टार ठूलो तालकोबीचमा रहेको एउटा सुन्दर सहर हुनेछ ।


धादिङसँग प्रचण्डको पुरानो साइनो पनि छ । उनले गोरखाको आरुघाटमा रहेको भिमोदय उमाविमा पढाए । सल्यानटार, आगिन्चोक, खहरे र सल्यानकोट लगायतका धेरै विद्यार्थीले उनीबाट शिक्षीत हुने मौका पाएका थिए ।


‘सल्यान्टार र सल्यानकोट क्षेत्रमा आउँदा मलाई त्यतिबेलाको स्मरण हुन्छ । म आफू शिक्षकको रुपमा यहाँ थिएँ । मैले विभिन्न विषयमा पढाएँ,’ प्रचण्डले मन्तव्यको शुरुवातमा भनेका थिए ।
रेलदेखि बुढीगण्डकी जलविद्युत आयोजना धादिङमै !

अध्यक्ष प्रचण्डका अनुसार नेपालले चीनसँग गरेको सहमति अनुसार एउठा ठूलो रेल मार्गले पनि धादिङलाई प्रत्यक्ष प्रभाव पार्नेछ ।


‘चीनबाट रेल ल्याउने र नयाँ किसिमले विकास गर्ने समझदारी पनि भएको हो । रेल केरुङबाट काठमाडौं हुँदै धादिङको बाटो भएर पोखरा र पोखराबाट लुम्बीनिसम्म पुर्याउने मार्गभित्र अघि बढेको छ,’ प्रचण्डले भने,‘भारतबाट पनि काठमाडौंलाई रेल मार्गको रुपमा जोड्ने उपाय अबलम्बन हुँदैछ ।’


जलासययुक्त बुढीगण्डकी आयोजनाको विषयमा विभिन्न भ्रमहरु समेत व्यप्त छन् ।

बुढीगण्डकीको क्षमता ९०० मेगावटमा झार्ने हल्ला चलिरहेको भ्रम पनि प्रचण्डले निवारण गरे ।


‘धादिङकै सन्दर्भमा कुरा गर्दा यहाँ १२ सय मेगावटको बुढीगण्डकी जलाशययुक्त परियोजनाको काम कसरी अगाडी बढ्ला भन्ने कुरा धादिङ गोरखाबासीका लागि संवेदशिल छ । तर यो परियोजना दुई वटा जिल्लाको लागि मात्रै होइन । सिंगो राष्ट्राको लागि गौरवको परियोजनाको रुपमा राष्ट्रको ध्यान केन्द्रीत छ,’ उनले भने,‘यसलाई अघि बढाउने सन्दर्भमा हिँजो राजनीतिक पार्टी र नेतृत्व सरकार ८ महिनामा जाने, ९ महिनामा जाने बढी गए, दश एघार महिनामा जाने परिस्थितिले यो योजनालाई के हुन्छ के हुन्छ भन्ने बनायो । एउटा सरकारले परियोजना एउटालाई जिम्मा दिन्छ अर्कोले आएर खारेज गरिदिन्छ । अब त्यो स्थिति छैन । यो परियोजना बनाइ छाड्ने अठोटका साथ सरकारले एउटा चिनिया कम्पनिसँग सहमति गरि सकेको छ । यो कुरा निर्धक्कसँग भन्न सकिनेर विश्वास गर्न सकिने अवस्थामा पुगेको छु ।’


आरुघाट खहरेको मुआब्जा के होला ?


अन्य क्षेत्रको मुआब्जा वितरण भएपनि धादिङको खहरे र आरुघाट बजारको मुआब्जा निर्धारण हुन सकेको छैन । धादिङको रिङ्नेसम्म डुबान हुने क्षेत्र भएपनि मुआब्जा निर्धारण नभएपछि सो क्षेत्रका बासिन्दा अन्यौलमा छन् । यो विषय प्रचण्डले यसअघि आरघाटमा आयोजित जनसभामा समेत उठाएका थिए । ‘आरुघाट बजार र खहरेको मुआब्जा निर्धारणको काम छिटो सक्ने र छिटोभन्दा छिटो १२ सय मेघावटको परियोजनालाई जतिसक्दो छिटो सम्पन्न गर्ने भन्ने उर्जा मन्त्रालयको कुरा छ,’ उनले भने,‘यो तपाईंले घोषणा गरिदिए हुन्छ भनेपछि मैले भनेको हुँ । आरुघाट खहरे बजारको जग्गाको अहिलेको बजार मुल्य, इतिहास सबैलाई ध्यान दिएर मुआब्जा निर्धारण गरिनेछ । जनताको चिन्ताको बारेमा सरकार विज्ञ छ । त्यसको विचार गरेर नै मुआब्जा निर्धारण गरिनेछ ।’


बुढीगण्डकी आयोजना बहुआयामिक रहेको समेत उनले बताएका थिए ।


‘यो आयोजना हामी छिटो टुङ्ग्याउँछौँ । यो सरकार ९ महिने होइन, ८ महिने पनि होइन । यो ५ वर्ष चल्ने सरकार हो । सिंगो ४ वर्ष बाँकी छ । त्यो अवधि भित्र हामी यस्ता परियोजनालाई अगाडी बढाउँछौँ,’ उनले भने ।


मध्यपहाडी लोकमार्ग


पूर्व पश्चिम महेन्द्र राजमार्गको विकल्पको रुपमा हेरिएको मध्यपाहाडी लोकमार्गले पनि धादिङलाई निकै प्रभाव पार्ने छ । काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ । धादिङको सल्यान्टार, आगिन्चोक, खहरे, सल्यानकोट, झार्लाङ, सेर्तुङ लगायत हिमाली क्षेत्रलाई समेत यसले प्रभाव पार्ने बताइइएको छ । ८ मिटरको २ लेनमा निर्माण हुँदै गरेको उक्त सडक खण्डको निर्माणका लागि केही वर्षअघि नै सर्भे सम्पन्न भएको थियो ।


‘मध्य पहाडी लोकमार्ग यही क्षेत्रबाट जाँदैछ । यसैबर्षबाट मध्यपाहाडी लोकमार्ग निर्माणको कार्य अगाडी बढ्दैछ,’ प्रचण्डले भने ।


उनले धादिङ, तिप्लिङ रसुवा सडक निर्माण गर्ने सन्दर्भमा विशेष ध्यान रहेको समेत बताए ।


सल्यानटारको सहरीकरण


नेपालका चर्चित टारहरूमध्येको एक टार हो – सल्यानटार । बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको यो टार प्रकृतिले दिएको संभावनाहरुको ठूलो अवसर पनि हो । प्रचण्ड यो टारसँग निकै परिचित पनि छन् । त्यसैले उनले मन्त्व्यका क्रममा सल्यानटारलाई नमुना सहर बनाउने घोषणा गरे ।


‘सल्यानटारलाई सहरीकरण गर्ने र त्यसका लागि झण्डै ३ करोड रुपैयाँ छुट्याएर डिपीआर (विस्तृत परियोजना) तयार पार्ने काम भएको छ । साथै खानेपानी मन्त्रालयले खानेपानीको व्यवस्था गर्ने काम गर्नेगरी काम अघि बढेको छ,’ उनले भने,‘सल्यानटार, बेलुन, फुलखर्क, रि सडकखण्डलाई पनि केही रकम छुट्टिएको छ । यी मूलभूत बाटाहरुलाई पक्क बनाउने काम अब अघि बढ्छ । किनकी मलाई थाहा छ अहिलेसम्म धादिङ जिल्लाको पक्कीबाटो भनेको सदरमुकाम आउने बाटो मात्रै हो । अरु सबै बाटो कच्ची छ । तर केही समय भित्रै धेरै बाटोहरु पक्की हुने प्रक्रियामा छन् । त्यसमा मेरो साथ रहनेछ ।’


प्रचण्डले भनेजस्तै धादिङको एकमात्रै पक्की बाटो भनेको फूर्केखोलाबाट धादिङबेसी सम्म आउने २१ किलोमिटरको कालुपाण्डे राजमार्ग मात्रै हो । सदरमुकाम धादिङवेशी आउने सम्पूर्ण सडक कच्ची नै रहेका छन् ।


धादिङवेशी–टारिवेशी सडक कालोपत्रे हुँदै


धादिङवेशीदेखि टारिवेशीसम्म जोड्ने सडक भने कालोपत्रेको तयारीमा छ । कालोपत्रेको जिम्मा पाएको लामा कन्स्ट्रक्सनले कालोपत्रेका लागि ग्रावेलको कार्य सम्पन्न गर्ने तयारीमा छ । वर्षाका क्रममा निर्माण अवरुद्ध भएपििन राजनीतिक तहबाट भने सडक तोकिएको समयमा नै पुरा गर्न दबाव जारी छ ।

‘हामीले यो जेठसम्म कालोपत्रे सम्पन्न गर्न दबाव दिएका छौँ,’ नेपाल कम्युनिस्ट पार्टीका एक नेता भन्छन्,‘नेपालको क वर्गको ठेकेदार कम्पनि भएका कारण यो आफ्नो सम्झौता अनुसार काम सम्पन्न गर्छ भन्ने हाम्रो विश्वास छ । यदि तोकिएको समयमा काम सम्पन्न गरेन भने हामी ठेकेदार कम्पनिलाई नै मुद्दा हाल्छौँ ।’


जलाशययुक्त तालको बिचमा रमणिय सहर बन्दैछ सल्यानटार : जगत सिंखडा


प्रदेश ३ का सांसद जगत सिंखडा धादिङको सल्यानटारलाई पर्यटन हब बनाउने अभियानमा क्रियाशिल छन् । ‘बुढीगण्डकी जलाशय युक्त आयोजना सम्पन्न हुँदैगर्दा देशको सबैभन्दा महत्वपूर्ण भुभागको रुपमा सल्यानटार रहनेछ ।

आयोजनाको सम्पन्न भएपछि यहाँ जलपर्यटनको ठूलो संभावना रहन्छ,’ उनले भने,‘बुढीगण्डकी आयोजनाबाट विस्थापित बनेका सम्पूर्णलाई पुनर्वासको लागि पनि सल्यानटार नै उपयुक्त स्थान हो । बस्ती निर्माणका क्रमममा पनि यहाँ एउटा छुट्टै मौलिकताको बस्ति बस्नेछ । यसले सल्यानटारको छुट्टै परिचय दिनेछ ।’


२२ अर्ब मुआब्जा वितरण गरेका छौँ, अब ३ अर्ब वितरण हुँदैछ : कृष्ण कार्की


बुढीगण्डकी जलविद्युत आयोजना प्रमुख कृष्ण कार्कीका अनुसार सरकारले हालसम्म २२ अर्ब मुआब्जा वितरण गरिसकेको छ । केही महिनाभित्रै ३ अर्ब मुआब्जा वितरण गरिने पनि उनले बताए । उनका अनुसार आरुघाट, खहरे लगायत मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रमा पनि अब यो आर्थिक वर्ष भित्र वितरण हुनेगरी काम अघि बढी रहेको छ । ‘हामी तिब्र गतिका साथ काम गरिरहेका छौँ । अब ड्याम क्षेत्रका बासिन्दालाई पुनर्वासको काम पनि अघि बढ्दैछ,’ उनले भने,‘पुनर्वासको नीति बन्ने क्रममा छ ।’


बुढीगण्डकी निर्माणको ठेक्का पाएको चिनिया कम्पनि गेजुवाले आफ्नो काम जतिबेला पनि शुरु गर्न सक्ने उनले बताए । ‘हामीले निर्माणका लागि रोकेका छैनौँ । हामीले मुआब्जा वितरण र बासिन्दाको व्यवस्थापनको जिम्मा लिएका हौँ,’ उनले भने,‘यो आर्थिक वर्षभित्र मुआब्जा वितरण टुंगीन्छ ।’

सिफारिस