कश्मीर आक्रमण: भारत-पाकिस्तानको तनाव घटाउन साउदी अरबको यस्तो प्रयास

दियो पोस्ट  

विविसी

साउदी अरबले भारत र पाकिस्तानबीच बढेको तनाव साम्य पार्न प्रयास गर्ने बताएको छ।

एशिया भ्रमणमा निस्केका साउदी युवराज मोहम्मद बिन सलमान पाकिस्तानबाट भारत आइपुग्नुअघि रियादले सो घोषणा गरेको हो।

गत हप्ता भारत प्रशासित कश्मीरमा भएको आत्मघाती बम विस्फोटनमा ४६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानले सो घटना गराएको आरोप लगाएको छ। पाकिस्तानले भने त्यसको खण्डन गरेको छ।

पाकिस्तानी भूमिबाट सञ्चालित उग्रवादी सङ्गठन जैश-‍ए-मोहम्मदले सो आक्रमण आफूले गराएको दाबी गरेको छ।

भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट एक्ल्याइदिने चेतावनी दिएको छ र भारतमा पाकिस्तानविरोधि प्रदर्शनहरू भएका छन्।

सन् १९४७ मा विभाजन भएदेखि नै भारत र पाकिस्तानबीच कश्मीरबारे विवाद जारी रहेको छ। दुवैले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्।

साउदी विदेशमन्त्री अदेल अल जुबेरले सोमवार साउदी अरबको लक्ष्य “ती दुई छिमेकी देशबीच रहेको तनाव साम्य पार्ने प्रयास गर्नु र शान्तिपूर्ण ढङ्गबाट विवाद समाधान गर्न सकिने मार्ग छ कि भनेर हेर्नु” रहेको बताएका छन्।

कश्मीर घटनापछि शोक दिल्लीमा मनाइँदै
भारतमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन्

पाकिस्तानलाई अर्बौँ डलर सहयोग

गम्भीर आर्थिक सङ्कट खेपिरहेको पाकिस्तानमा साउदी अरबले २० अर्ब डलर लगानी गर्ने भएको छ। युवराज मोहम्मदको भ्रमणका बेला त्यसबारे विभिन्न सहमतिहरू भएका छन्।

पाकिस्तानको वैदेशिक मुद्रासञ्चय घट्दै गएको छ। अहिले उसको राज्यकोषमा कुल आठ अर्ब डलर विदेशी मुद्रा मात्र सञ्चित छ।

अन्तर्राष्ट्रिय मुद्राकोषबाट कडा शर्तहरू मानेर सम्भवत: लिनुपर्ने विशेष सहयोगको रकम घटाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मित्रराष्ट्रहरूसँग सहायता खोजिरहेका छन्।

सन् १९८० को दशकको उत्तरार्धयता पाकिस्तानले आफ्नो अर्थतन्त्रको उद्धार गर्न सहयोग खोजेको यो १३ औँ पटक हो।

साउदी अरबले यसअघि छ अर्ब डलर ऋण दिइसकेको थियो।

बन्दी छोड्ने सहमति

पाकिस्तानले साउदी युवराजसँग साउदी अरबका कारागारमा रहेका आफ्ना नागरिकहरूलाई मुक्त गरिदिन अनुरोध गर्‍यो।

दुई देशबीच रहेको सम्बन्ध सुदृढ बनाउन साउदी अरबले दुई हजार एक सय सात पाकिस्तानी बन्दीलाई छोडिने जनाएको छ।

Twitter post by @SMQureshiPTI: HRH Crown Prince Muhammad Bin Salman has graciously agreed to free 2107 Pakistani prisoners in Saudi Arabia with immediate effect. Cases of the remaining will be reviewed.  People of Pakistan thank HRH for responding immediately to Prime Minister Imran Khan's request.

उनीहरूमध्ये अधिकांश कानुनी सहायता कम पाएका वा पाउँदै नपाएका आप्रवासी कामदार हुन्।

मध्यपूर्वमा ठूलो सङ्ख्यामा पाकिस्तानीहरू काम गर्छन्। उनीहरूले कमाएर पठाएको पैसाले पाकिस्तानी अर्थतन्त्रलाई ठूलो राहत दिने गरेको छ।

इस्लामाबादले युवराज मोहम्मद बिन सलमानलाई आफ्नो देशको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ पाकिस्तान’बाट विभूषित गर्ने घोषणा गरेको छ।

गत अक्टोबर महिनामा पत्रकार जमाल खशोग्जीको टर्कीस्थित दूतावासमा हत्या भएपछि युवराज मोहम्मद बिन सलमानको अन्तर्राष्ट्रिय छवि बिग्रिएको थियो। अहिले उनी त्यो सुधार्ने प्रयासमा छन्।

सिफारिस