काठमाडौं, १५ फागुन । एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको मृत्यु भएको छ ।
मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक थिए ।
हेलिकप्टरमा प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल पनि थिए। उनको पनि निधन भइसकेको छ । त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि छन्।
हेलिकोप्टर पाइलटमा सबैभन्दा इमान्दार र रमाइला थिए प्रभाकर केसी । एयर डाइनेष्टीमा लामो समयदेखि कार्यरत उनसँग उडान गर्नेहरु यतिबेला उनलाई सम्झिरहेका छन् ।
‘हेलिकोप्टरमा धेरैचोटि यात्रा गरेँ । उनीजस्तो हासिलो र मिजासिलो चालक कहिल्यै भेटिनँ,उडानको समयमा मिठा मिठा कुरा र धेरै जोक गर्थे । एक महिनाअघि मात्रै ५ घण्टा लामो उडान गरेको थिएँ । रुकुम जादा र फर्किदा गरेका मिठा मिठा कुराहरु दिमागमा झल झल सम्झन्छु,’ केसीलाई सम्झँदै पर्यटन व्यावसायी मुक्ति पाण्डे भन्छन्,‘तपाईं र म सगरमाथा आधारशिविर सँगै जाउँ है एक चोटी भनेका थिए । मैले हुन्छ भनेको थिएँ । आउने अप्रिलमा जाने सल्लाहा थियो । उनीसँग सगरमाथा आधार शिविर जाने सपना अधुरै भयो ।’