
मलेशिया, १८ माघ । गैरआवाशिय नेपाली संघ (एनआरएनए) लाई विदेशमा रहेका नेपालीले मात्रै होइन नेपाल सरकारले समेत विशेष मान्यता दिएको छ । तर संघका केही खराब व्यक्तिहरुका कारण एनआरएनएको छवि सामाजिक रुपमा धमिलिँदै गएको छ ।
गैरआवाशिय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराईको फट्याईंका कारण संघ विवादित मात्रै बनेको छैन मलेशिया स्थित नेपालीहरुले संघ प्रतिको विश्वास समेत गुमाउन पुगेका छन् ।
भट्टराईका विश्वाश पात्र तथा कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले मलेशिया भ्रमणमा गएका दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई माओवादी शैलीमा ‘अपहरण’ गर्ने योजनाको खुलाशा गरे । उनले मलेशियामै रहेका केही नेपालीमा मार्फत विश्वकर्मा बसेको लोकेशन खोजी गरे ।
मलेशियामै रहेका आपराधिक समुहलाई समेत प्रयोग गरेर उनले अपहरणको योजना बनाएका थिए । कोषाध्यक्ष नेपालको अडियो रेकर्डका आधारमा समाचार प्रकाशन भएपछि संघले आत्मआलोचना गर्छ भन्ने सबैको विश्वास थियो । तर, आपराधिक गतिविधिमा समलग्न कोषाध्यक्षलाई कारबाही गर्नुको सट्टा भट्टराईले विज्ञप्ति नै निकालेर समाचार नै झूटो भन्न भ्याए । त्यति मात्रै होइन प्रेस काउन्सिल नेपालमा दर्ता र सुचिकरण नै नभएको एउटा अनलाईन मार्फत नेपाली मिडियामा आएको समाचारको खण्डन गरे । भट्टराईले उक्त दर्ता बिनाको अनलाईन मार्फत ‘पैसा खाएर’ समाचार लेखेको भन्ने गम्भिर आरोप समेत लगाए ।
अर्थात कोषाध्यक्षले गरेको आपाराधिक क्रियाकलापको ढाकछोप एनआरएनए मलेशियाका अध्यक्ष भट्टराईले सार्वजनिक रुपमा गरिदिए । यसले के पुष्टि गराउँछ भने पत्रकार अपहरण गर्ने योजनामा अध्यक्ष भट्टराईको पनि समलग्नता छ ।
मलेशिया ‘भ्रमण’ गएका दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई अपहरणको तयारी भएको समाचार दियोपोस्टले गत बुधबार प्रकाशन गरेको थियो ।
गैरआवाशीय नेपाली संघ ‘एनआरएनए’ कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले विश्वकर्मालाई अपहरण गर्ने योजनामा विभिन्न व्यक्तिहरु परिचालनमा लागेको खुलेको थियो ।
‘उहाँले न्युजको स्रोत कहाँबाट पाउनु भयो । म संघको कोषाध्यक्ष एक पटक मलाई सोधेर न्युज लेखेको भएहुन्थ्यो । स्रोत के हो थाहापाउनु पर्यो । उ मलेशिया आएको छ भन्ने कुरा आयो,’ नेपालले भनेका थिए, ‘त्यो मान्छेको अफिस कहाँ रहेछ भन्ने पत्ता लगाइसकियो । त्यो मान्छेलाई कानुनी कारबाही पनि हुन्छ । चरप्प पार्दाखेरी यसो मिलाएर पार्न पर्छ । हामी माओवादी हौँ कसरी पाथ्र्यौं पहिले ।’
‘एनआरएनए’ मलेशियाका अध्यक्ष हरि भट्टराईले श्रमिक कल्याणकारी कोषका लागि दिएको चेक कोषको खातामा जम्मा नभएको प्रमाणसहित दियोपोस्टमा समाचार प्रकाशीत भएको थियो ।
सार्वजनिक कार्यक्रम गरेरै कल्याणकारी कोषलाई ५० हजार रिंगेट अर्थात करिब १३ लाख नेपाली रुपैयाँको चेक दिएका भट्टराईको खाताबाट हालसम्म पनि रकम जम्मा भएको छैन ।
यहि विवादले एनआरएनए मलेशियाको हालसम्म पनि बैठक बस्न सकेको छैन । बहुमत समस्यले भट्टराईको फट्याईंको विरोध गर्ने भएपछि उनी बैठक सार्दै आएका छन् ।
अडियो सुन्नुहोस्