एजेन्सी । अस्ट्रेलियाको सरकारले चिनियाँहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि त्यहाँको सरकारले आफ्ना नागरिकबाहेक अन्य कोहीलाई पनि प्रवेश गर्न नदिने घोषणा गरेको हो ।
चीनमा देखिएको कोरोनाभाइरस विभिन्न देशहरुमा फैलिन थालेपछि त्यसको नियन्त्रणका लागि अस्ट्रेलियन सरकारले प्रवेशमा रोक लगाएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । प्रधानमन्त्री मोरिसनका अनुसार अस्ट्रेलियाका नागरिकलाई मात्र चीनबाट अस्ट्रेलिया प्रवेश गर्न दिइने व्यवस्था शनिबारदेखि नै लागु भएको छ ।
चीनबाट स्वदेश फर्कने आफ्ना नागरिकहरुलाई भाइरसबाट सुरक्षित राख्नका लागि विमानस्थल र नाकाहरुमा समेत विज्ञहरु परिचालन गरिएको त्यहाँको संचारमाध्यमहरुले जनाएका छन् । साथै अस्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चिन भ्रमण नजान समेत निर्देशन दिएको छ ।