
दोलखा । दोलखाको रोल्वालिङ पदमार्ग हुँदै गौरीशङ्कर हिमाल, च्छो रोल्पा हिमताल, दूधकुण्ड लगायत पर्यटकीय गन्तव्य पुग्ने स्वदेशी तथा विदेशी पर्यटक अहिले होम स्टेमा बस्न थालेका छन् ।
हिमाली गाउँको रहनसहन, संस्कार, संस्कृति र सामाजिक वातावरणमा रमाउन पर्यटकले वासस्थानका लागि होम स्टे रोज्न थालेको टाँसिनामका रामबहादुर ठकुरीले बताए । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा पर्ने टाँसिनाममा विगत लामो समयदेखि होम स्टे सञ्चालन गर्दै आएका रामबहादुर केही वर्ष यता पर्यटकहरूले होम स्टेमा बस्न रुचि देखाउन थालेको बताउँछन् ।
रोल्वालिङ पदमार्गमा सुविधासम्पन्न होटलहरूको अभावले पनि गाउँघरमा सञ्चालनमा रहेका होम स्टे लोकप्रिय भएको वाङ्छु बताउँछन् । संरक्षण क्षेत्रको सहयोगमा रोल्वालिङ पदमार्गमा पर्ने गौरीशङ्कर गाउँपालिकाको सिमिगाउँमा १० वटा, टाँसिनाममा तीनवटा, चंखुको ल्वासामा सातवटा र मार्वुमा १० वटा होम स्टे सञ्चालनमा रहेको संरक्षण क्षेत्रका याङ्टी शेर्पा बताउँछन् । त्यसरी सञ्चालनमा रहेका होम स्टेका लागि संरक्षण क्षेत्रले १५ हजार बराबरका २ वटा बेड र कोठाका विभिन्न सामान सहयोग गरेको याङ्टीले बताए।


