काठमाडौँ । विगतका कैयौँ व्यक्तिलाई ठगी गरेका तथा ठगीका आरोपमा जेलजीवन बिताएका भेष बहादुर थापा अध्यक्ष बनेका कारण सुन्दर यातायात संकटमा फसेको छ । रंगकर्मी दिनेश डिसी लगायतको व्यक्तिहरु संचालक रहेको सुन्दर यातायातलाई बैँकले ऋण नदिएको भन्दै गत पुष २७ गते एक बक्तब्य निकालिएको थियो । बैँकहरुलाई ऋण दिन दबाव सिर्जना गर्ने उद्धेश्यले प्रकाशित वक्तब्यपछि पनि बैँकहरु टसका मस भएका छैनन् । कुनै पनि बैँकले ऋण नदिएपछि सुन्दर यातायातले थप बस भित्र्याउन सकेको छैन ।
गत बर्षदेखि ५० ओटा बस भित्र्याउने भन्दै ढाँट्दै आएका सुन्दर यातायातलाई चिनियाँ कम्पनीले समेत पत्याउन छाडेको छ । विद्युतीय सवारीतर्फ आकर्षणलाई आवरण बनाएर विगतमा ठगी मुद्धामा जेल परेर छुटेका सुन्दर यातायात नामको विद्युतीय बस संचालन गरे पनि थापाकै कारण जनताको पैसा लगानी गर्ने अवस्था नरहेको बैँकरहरुको भनाई छ । थापाको खराब विगतका कारण आँखा चिम्लेर ऋण दिने अवस्था नरहेको एक बैँकरले बताए ।
संस्थागत सुशासन नभएको व्यक्तिगत रुपमा संचालन गरिएको कारण सुन्दर यातायातमा गरेको लगानी खेर जाने अवस्था आएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । विगतमा नेपालका चर्चित प्रहरी अधिकृत, नामी पत्रकारदेखि सैनिकसम्मको रकम ठगी गरेपछि जेल परेका थिए भेष बहादुर थापा । आफुलाई पत्रकार समेत भन्दै हिँड्ने थापाले २०६७ सालमा तत्कालीन प्रहरी हेडक्वार्टरका इन्सपेक्टर तथा हालका थापा थरका डिएसपी, नेपाली सेनाका मेजर, सशस्त्र प्रहरीका डिएसपी, नेपाल टिभीका एक अविवाहित महिला पत्रकारलाई समेत ठगी गरेका थिए ।
थापाले त्यतिबेला विभिन्न काममा लगाइदिन्छु भनेर जनही २० हजार देखि दुई लाखसम्म ठगी गर्न भ्याएको सुत्रको भनाई छ । उनको ठगीमा एकजना केसी थरको हिरोइन समेत परेकी छिन् । चारैतिर ठगीको उजुरी परेपछि उनलाई महानगरिय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरि मुद्धा चलाएको थियो । केही समय जेल बसेपछि रिहा भएका थापा संक्रमणकालको फाइदा उठाउँदै सुन्दर यातायातको नयाँ योजना लिएर बाहिर निस्केका थिए । गत बर्षको मंसिर २७ गते नै पत्रकार सम्मेलन गरि ६ महिनाभित्रमै ५०–६० वटा बस भित्र्याउने दाबि गरेको सुन्दर यातायातले चिनियाँ कम्पनी बिकेले पठाएको चारवटा परिक्षणको रुपमा संचालनको लागि पठाएको बस चलाएर थप ठगी गर्न उद्दत रहेको छ ।
काठमाडौंँको कालोपुलमा १५ बर्षअघि नै घर किनेका थापा एसएलसी समेत फेल हुन् । उनले नक्कली सर्टिफिकेट बनाएर सुचना विभागको पास लिएको खुलेको थियो । स्याङजामा जन्मेका थापाले अहिले पनि गृहमन्त्री रामबहादुर थापा आफ्नो नाता पर्ने भन्दै विभिन्न ब्यक्तिलाई प्रभावमा पार्ने गरेको सुत्रको दावि छ । उनि नेकपाको विभिन्न नेताहरु निकट रहेका छन् । बागलुङ तथा स्याङ्जाका स्थानीय नेतामार्फत उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नजिक पुगेका उनि समय समयमा नेताको घरमा उपहार लिएर पुग्ने गरेको सुत्रको दाबि छ । आर्थिक दैनिकबाट ।